काठमाडौं, ३ भदौ । नेकपा (एमाले)ले केपी ओली नेतृत्वको सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षा गरेको छ ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको स्थायी समिति बैठकमा धारणा राख्ने सदस्यहरूले ओली नेतृत्वका सरकराले धेरै राम्रा कामहरू गरेको दाबी गरेका हुन् । बैठकमा विष्णु पौडेल, सुवास नेम्वाङ र छविलाल विश्लकर्माले आ–आफ्ना धारणा राखेका थिए ।
उनीहरूले संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको लगायतका उपलब्धि हासिल भएको दाबी गरेका छन् ।
‘एमाले र माओवादी केन्द्रका बीचमा निर्माण भएको समीकरणलाई दीर्घकालीन रुपमा अघि बढाउन चाहेको भएता पनि माओवादी केन्द्र स्वयंले राजनीतिक समीकरणको कोर्ष बदल्न चाहेको र उसलाई विभिन्न शक्तिहरूको प्रलोभनले त्यस्तो ठाउँमा पुर्याएको कारणले नै समीकरण बदलिन पुगेको हो’, एमालेका नेताहरूले आरोप लगाएका छन् ।
सामान्य कमिकमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा एमालेलाई परिचालन गर्नुपर्ने नेताहरूको भनाइ रहेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।











प्रतिक्रिया