काठमाडौं, १ भदौ । फिल्म निर्माता रोज राणामाथि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाईके ‘चरी’ भनिने दिनेश अधिकारीको समूहले आक्रमण गरेको रहस्य खुलासा भएको छ ।
चरी ईन्काउन्टर पश्चात फरार रही गतबर्ष पक्राउ परेका पन्चे लामा र उनका दाजु ‘जोधा’ भन्ने रत्न बहादुर लामाको योजनामा राणामाथि सोमबार खुकुरी प्रहार भएको महानगरीय प्रहरी अपराध महाशाखाले पत्ता लगाएको छ ।
प्रहरीले गुण्डाका नाईके ‘जोधा’लाई घटनाको मुख्य योजनाकार भनेको छ ।
रोजलाई सोमबार राति ‘मोटे’ भन्ने भक्तपुरका विवेचन प्रजापतिले खुकुरी हानेका थिए भने ‘कटुन्जे’ भन्ने धादिङ घर भएका सूर्य लामाले मोटरसाइकल चलाएर सहयोग गरेका थिए । दुबै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको थियो । दुबै जनालाई आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाईएको छ ।
यस्तो छ पूरा घटनाविवरणः

विगतको बिभिन्न कारोवार र गुण्डागर्दीबाट हुने फाइदा लिने, खाने क्रममा रोज राणाले धोका दिएको, छलछाम गरेको भनि पुरानो रिसिईवी लिई काभ्रे स्थायी घर भई का.जि.नयाँबजार बस्ने हाल फरार रही लुकिछिपी वसेका गुण्डाका नाईके ‘जोधा’ भन्ने रत्न बहादुर लामाले सरोज थापालाई आक्रमण गर्ने योजना वनाई आफ्नो समूहका विवेचन प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप विवेचनलाई भा.रू. ५० हजार दिएको खुलेको । करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने नेपाल आई विवेचनको घरमा गई सरोज थापालाई आक्रमण गरी अङ्ग-भङ्ग तुल्याउन थप ३० हजार दिएको र काम सम्पन्न भए पश्चात रु.३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको वुझिएको । सोही योजना बमोजिम विवेचनले मिति २०७३।०४।३१ गते विहान सूर्य लामालाई मोटरसाईकल चलाउन लगाई घरमा रहेको खुकुरी झोलामा हाली सूर्य लामा र विवेचन सोही दिन बागबजार, दरबारमार्ग, नक्साल हुदै सरोज थापाको पिछा गरेका, आक्रमण गर्न नसके पश्चात अन्तिममा साँझ करिव ६.४५ बजे बानेश्वरको सेन्टर क्याफे अगाडी गई विवचनले एक्कासी खुकुरीले प्रहार गरेको र तत्पश्चात सूर्यले मोटरसाईकल चलाई फरार भएको हाल सम्मको अनुसन्धानबाट खुल्न आएको ।











प्रतिक्रिया