काठमाडौं, ३२ साउन । एमालेका नेता तथा निवर्तमान मन्त्री शेरधन राईले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको ताल र सुर राम्रो नदेखिएको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा नेता राईले भने, ‘यो सरकारको सुर र ताल त्यति राम्रो छैन, यसको मति र गति हेर्दा त्यति सन्तोष गर्ने ठाउँ छैन् ।’ उनले सरकारको यही तालले जनताले केही पनि राहत महशुस गर्न नसक्ने समेत ठोकुवा गरे ।
सरकारको गतिविधि आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको बताउँदै नेता राईले भने, ‘एमालेले गम्भिर रुपमा सरकारको गतिविधि नियाँलिरहेको छ, यो सरकारले अघिल्लो सरकारले नै तय गरेको निर्वाचनको कार्यतालिका समेत तोडेको छ, मंसिरमा गर्ने भनिएको चुनाव चैत्रमा सारिएको छ, यसबाट प्रष्ट हुन्छ कि यो निर्वाचन गर्न चुनावको म्याद सारिएको होइन् ।’
उनले सरकारले चुनावको कार्यतालिका नै तोडेको देख्दा आफूहरुलाई कतै यो सरकारले मुलुकमा संवैधानिक रिक्तता ल्याउन खोजेको त होईन भनेर आशंका लागेको समेत गुनासो पोखे । उनले थपे, ‘एमाले चुप लागेर बस्दैन्, हामीले जनतालाई खबरदारी गरिसकेका छौं ।’
केपी ओली नेतृत्वको सरकारले अघि सारेका राम्रा कामहरूलाई बाइपास गरेर अघि बढ्न खोज्नेहरू चिप्लिने उनको दाबी थियो । उनले अघि थपे, ‘तपाईहरू सही बाटो हिँड्नुहोस, यदि त्यसो गर्नुभएन भने तपाईहरू कहिल्यै उठ्न नसक्नेगरि लड्नुहुन्छ ।’
राईले मधेसी मोर्चाले भनेजस्तो सजिलै संविधान संशोधन हुनै नसक्ने बताए । उनले संविधान संशोधनको औचित्यपुर्ण कारणसहित सहमति भएमात्रै एमालेले विचार गर्ने स्पष्ट पारे । उनले भने, ‘यो धर्तीमा एमाले पनि छ, हामी जिउँदै छौं ।’











प्रतिक्रिया