२ कार्तिक २०८३, सोमबार

ऊर्जा सङ्कट होइन, समाधान खोज्नतिर लाग्नुपर्छः मन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janardan-sharma-Prabhakar-1काठमाडौँ, ३० साउन । ऊर्जा मन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्न मातहतका कर्मचारी तथा विभागिय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्नुभएपछि ऊर्जा मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालय मातहतका कर्मचारीलाई निर्देशन दिँदै उहाँले मुलुक ऊर्जा सङ्कटमा रहेकाले त्यसलाई समाधानको उपाय खोज्न कुनै पनि मोलाहिजा नराखी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले मुलुकलाई अगाडि बढाउने वा नबढाउने भन्ने प्रमुख जिम्मा स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनकै भएकाले पूर्ण क्षमताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

काम गर्न कुनै पनि अवरोध उत्पन्न नहुने उल्लेख गर्दै ऊर्जा मन्त्री शर्माले भन्नुभयो, “ढिलासुस्तीले काम बन्दैन, तपाईँहरु दौडन तयार हुनुस् । म पनि तपाईँहरुसँगै दौडन तयार छु । मुलुक र जनताको पक्षमा पूर्ण क्षमताका साथ काम गर्नुपर्छ ।”

ऊर्जा क्षेत्रमा रहेको समस्या समाधानका लागि सबैको सकारात्मक साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिँदै उहाँले विगतका सरकारले अगाडि सारेका सकारात्मक कार्ययोजनालाई पूरा गरिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “म पनि इमान्दार भएर कर्मक्षेत्रमा लाग्छु, तपाईँहरुको पनि सकारात्मक सहयोगको अपेक्षा गर्दछु । अब हिँडेर मात्रै कहीँ पुगिँदैन, पूर्ण क्षमताका साथ दौड्नुपर्छ । त्यसका लागि तयार हुनुस् ।”

यस्तै, ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले मुलुकको समग्र क्षेत्रको विकासका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसमा इमान्दार प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भूकम्पले क्षतिग्रस्त मुलुकको पुनःनिर्माण र नवनिर्माणका लागि ऊर्जा क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै उहाँले कर्मचारी प्रशासनसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव सुमनप्रसाद शर्माले मुलुकको ऊर्जा सङ्कट समाधानका लागि दस वर्षमा दस हजार मेगावाटको कार्ययोजना प्रस्तुत भएको सन्दर्भमा त्यसलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दिनभित्र कार्ययोजना प्रस्तुत गर्न दिनुभएको निर्देशनबमोजिम मन्त्रालयले विद्युत्भार कटौतीलाई कसरी कम गर्न सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गरेको सचिव शर्माले जानकारी गराउनुभयो ।

यस्तै, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङले नीति निर्माण र अध्ययनको क्षेत्रमा आयोगले काम गरिरहेको भन्दै मन्त्री शर्मा र राज्यमन्त्री भगतको कार्यकालमा मुलुकले महत्वपूर्ण प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

ऊर्जा मन्त्री शर्माको जन्म रुकुमको मुसिकोटमा विसं २०१९ वैशाख २२ गते भएको हो । विसं २०३४ सालबाट राजनीतिमा लाग्नुभएका शर्मा रुकुम क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

तत्कालीन जनमुक्ति सेनाका डिपुटी कमाण्डरसमेत रहनु भएका शर्मा मन्त्री बन्नु अगाडि व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिका सभापतिसमेत हुनुहुन्थ्यो । यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका ऊर्जा मन्त्री शर्मा राजनीतिमा लाग्नुभन्दा पहिले करिब पाँच वर्ष सरकारी सेवामा रहनुभएको थियो ।

स्नातकसम्म अध्ययन गर्नुभएका शर्माका एक छोरा र एक छोरी छन् । माओवादी जनयुद्धको उद्गमस्थल रुकुमबाट संविधानसभा पहिलो र दोस्रोमा समेत प्रत्यक्ष निर्वाचित शर्मा नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ ।

यस्तै, ऊर्जा राज्यमन्त्री भगतको जन्म रौतहटको माघेपुरमा विसं २०२६ असार ५ गते भएको हो । रौतहट क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भगत तराई मधेसबाट माओवादी राजनीतिमा उदाएका युवा नेता हुनुहुन्छ । विसं २०४४ सालदेखि राजनीतिमा लाग्नुभएका राज्यमन्त्री भगतले दश वर्ष भूमिगत जीवन बिताउनुभएको थियो ।

प्रवेशिकासम्म अध्ययन गर्नुभएका राज्यमन्त्री भगतले तीन वर्षसम्म जेल जीवन समेत बिताउनुभएको छ । तीन छोरी र दुई छोराका पिता भगत गीत, कविता र राजनीतिक विषयमा कलम चलाउँदै आउनुभएको छ । रासस