लखिमपुर, भारत । भारतको गौरीफण्टा–पलिया सडकमा परेका खाल्डाहरुका कारण यातायात सेवा प्रभावित हुनथालेपछि नेपाली ब्यावसायीहरुसहितको एक टोलीले भारतको लखिमपुर जिल्लाका डिएम आकाश दीपलाई शनिवार भेट गरेका छन् ।
नेपालमा आउने पेट्रोलियम पदार्थ र अन्य ब्यापारिक सामानहरु यसै नाका भएर आउने भएकाले खाल्डाखुल्डीका कारण आवागमनमा समस्या देखिएपछि तत्काल मर्मत गर्नुपर्ने माग राख्दै नेपालका तर्फबाट कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरु, अन्य ब्यवसायी, भारतका तर्फबाट पनि ब्यावसायी र सञ्चारकर्मीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले भारतको लखिमपुर जिल्लाका डिएम आकाशलाई भेटेर नेपाल बोर्डर जाने सकडकको दुरावस्थाको बारेमा जानकारी गराई तत्काल मर्मत गर्नुपर्ने माग राखेका हुन् ।
ठूला खाल्डाहरुका कारण सवारी दुर्घटनाका खतरा बढेपछि नेपाल र भारतका ब्यावसायीहरुले सडक मर्मतकालागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । दुर्घटनाका कारण मानवीय क्षतिको खतरा देखेपछि ब्यावसायीहरुले डिएमलाई नै भेटेर ध्यानाकर्षण गराउने काम गरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवरले जानकारी दिनुभयो । नेपालबाट कुँवरको नेतृत्वमा पूर्व अध्यक्ष दिनेशराज भण्डारी सहितको टोली शनिवार लखिमपुर पुगेको हो ।
सो सडकमा नेपालीहरुका लागि ब्यापारिक सामानहरु आउनुका साथै भारतको पलिया र बनगाँवबाट दैनिक उपभोग्य सामान ल्याउन नेपालीहरु जाने भएकाले उनीहरुलाई निकै सास्ती हुने गरेको छ । बाटोमा परेको खाल्डाहरुले सवारी साधनहरु आवागमनमा समस्या हुने गरेको छ । दुई तीन दिनदेखि सो सडकमा परेका खाल्डाहरुका कारण नेपालमा आउने मालबाहक ट्रकहरु बाटैमा रोकिने गरेको नेपालका ब्यावसायी ओमप्रकाश अग्रवालले बताउनुभयो ।
दैनिक दर्जनौ मालबाहक गाडी आउने गरेको अवस्थामा हाल सडकको आवस्था कम्जोर भएकाले फाटफूटमात्र आउने गरेको ब्यापारी अग्रवालको भनाई छ ।
दुई किलोमिटरको दूरीमा परेका ठूला खाल्डाहरुले बस सेवाका साथै साना सवारी साधनहरुलाई समेत समस्या हुने गरेको छ । नेपाली ब्यापारीहरुको सोही नाका भएर सामान आउने भएकाले बाटो मर्मतका लागि सहजीकरण गर्नका लागि यस अघिनै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई अनुरोध गरिसकेका छन् ।
प्रनिधिनि मण्डलसंगको भेट पछि लखिमपुर जिल्लाका डिएम आकाश दीपले नेपाल भारतको सीमा सडकमा देखिएको समस्या बारेमा आफू गम्भीर रहेको बताउनुभयो । सो सडकमा परेका खाल्डाखुल्डीका कारण यातायातका साधनहरु आवागमनमा देखिएको समस्या समाधनकालागि पहल गरिसकेको बताउनुभयो । सडकको अस्थाई मर्मतका लागि टोली खटाई सकेको उहाँले जानकारी दिनुभयो । सो क्षेत्रमा सडक निर्माणकालागि सरकारले बजेट विनियोजन गरिसकेकाले हाललाई अस्थाई समाधान निकाल्ने र केही समयपछि ठूलो सडक बन्ने बताउनुभयो ।
गौरीफण्टा सडकमा परेका खाल्डाहरुले नेपालमा आउने सवारी साधनहरु प्रभावित भएपछि कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुको पहलमा सडक मर्मतको लागि रकम संकलन गर्न लागिएको थियो तर भारतीय पक्षबाटै सडक मर्मतको काम अघि बढाएपछि अव नेपालीहरुले मर्मतको काम गर्नु नपर्ने भएको छ ।
प्रनिनिधि मण्डलले डिएम आकश दीपलाई निकट भविष्यमा नेपालका सीमा क्षेत्रको भ्रमणको निम्ता दिएकाछन् । टोलीमा वरिष्ठ उपाध्यक्ष कुँवर, पूर्व अध्यक्ष भण्डारीसहित ब्यावसायी ओमप्रकाश अग्रवाल, अनिल भुजनीय, पत्रकार हेमन्त पौडेल र भारतकातर्फबाट ब्यवसायी रबि गुप्ता, पत्रकारहरु नितेश गुप्ता र नविन अग्रवालको सहभागिता थियो ।
















प्रतिक्रिया