काठमाडौं, ३० साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने भएको छ ।
काठमाडौंको बिजुलीबजार तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘सरकारलाई मतदान गर्ने बेला मधेसी मोर्चाले तीन बुँदे सहमति गरेको थियो’, उहाँले भन्नुभयो, ‘त्यसको कार्यान्वयनका विषयमा छलफल गर्न मधेसी मोर्चाको बैठक बस्न लागेको हो ।’
तीन बुँदे सहमति अनुसार बैठकमा शहीदको घोषणा, न्यायिक छानविन आयोग गठन, घाइतेको उपचार खर्च, क्षतिपूर्ति, मुद्दा फिर्तालगायतका विषयमा छलफल राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठक बस्नुअघि सचिवालयको बैठक बस्नेछ । सचिवालयको तयारीअनुसार दिउँसो एक बजेपछि मधेसी मोर्चाको बैठक बस्ने महासचिव सुमनले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गरेको मधेसी मोर्चाले माग पूरा गराउन दबाब दिँदै आएको छ ।











प्रतिक्रिया