जलालाबाद (अफगानिस्तान), २९ साउन । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा शनिबार बिहानीपख भएको अमेरिकी ड्रोन आक्रमणमा आइएसका पाँच जना आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ ।
प्रान्तीय सरकारले शनिबार सो जानकारी दिएको जलालावादबाट प्राप्त समाचारमा जनाइएको छ ।
गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी अन्तर्राष्ट्रिय बलले रातभरी चालकरहित विमानबाट कारबाही गरेको थियो ।
त्यस आक्रमणको क्रममा शनिबार बिहानीपख कम्तीमा पनि पाँच जना आइएस आतङ्ककारी मारिएका जानकारी दिइएको छ ।
सो आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएका छन् । हवाई आक्रमणमा आतङ्ककारीहरुले भण्डारण गरेर राखेका कैयौँ हातहतियार समेत नष्ट भएको जनाइएको छ ।
यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ । तर पनि अफगान नागरिकहरुले भने यस्ता प्रकारका ड्रोन हमलामा सर्वसाधारण नै मारिने गरेको बताएका छन् ।
अफगानिस्तानमा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा बृद्धि गरेपछि हिंसामा कमी आएको बताइएको छ । त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् । रासस-सिन्ह्वा
















प्रतिक्रिया