२६ कार्तिक २०८३, बिहिबार

महन्थ, राजेन्द्रसहितका शीर्ष नेता अनुपस्थित, गठबन्धनले दियो सरकारलाई कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghiya Gathabandhanकाठमाडौं, २६ साउन । मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले स्थानीय निकायको राज्यपुनर्संरचनाका लागि जिल्लाहरुमा सुरु गरेको गोष्ठी र बैठकहरुलाई रोक्न माग गरेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बुधबार बसेको गठबन्धनको बैठकले स्थानीय निकायको पुनर्संरचनाको बैठकहरुलाई रोक्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव तथा प्रवक्ता केशव झाका अनुसार यथाअवस्थामा स्थानीय निकायको पुनर्संरचना गर्दा समस्या हुने भएकाले राजनीतिक सहमति नहुँदासम्म सो छलफल रोक्न माग गर्ने निर्णय भएको छ ।

‘राजनीतिक सल्लाह र सहमतिविना स्थानीय निकायको संरचना गर्नु उपयुक्त हुँदैन’, महासचिव झाले भन्नुभयो, ‘सरकारसँग पहिला पनि यो विषयलाई रोक्न माग गरेका थियौँ । आज पनि पुनः स्थानीय निकायको संरचनाको छलफल रोक्न माग गरिएको छ ।’

सरकारले शहीद घोषण, घाइतेलाई क्षतिपूर्ति, राजनीतिक मुद्दा फिर्ता, मधेस आन्दोलनको छानविन गर्न न्यायिक आयोग गठनलगायतका विषय पूरा गर्न सात दिनको समय माग भएकोमा गठबन्धनले भोलि बिहीबार सो समय सकिन लागेकाले माग तोकिएको समयभित्र पूरा गर्न ध्यानाकर्षण गराएको छ । गठबन्धनले शहीद र घाइतेको नाम रुजु गर्नका लागि सचिवालयलाई जिम्मेवारी दिएको छ ।

Morcha Gathabandhanसंविधान संशोधनको लागि पनि गठबन्धनले सरकारलाई दबाब दिने निर्णय गरेको रामसपाका महासचिव झाले बताउनुभयो । ‘सहमति अनुसार गठबन्धनका माग पूरा गर्न हामीले दबाब दिने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो ।

यसैबीच, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने संघीय गठबन्धनको बुधबारको बैठकमा अनुपस्थित भएका छन् ।

महतो र झाले गठबन्धनको बैठकमा प्रतिनिधि पनि किन नपठाएका हुन् सो विषयमा केही बताइएको छैन । स्रोतका अनुसार उपेनद्र यादवसँगको व्यक्तिगत टकरावका कारण उनीहरु नआएका हुन् ।

बैठकमा महन्थ ठाकुर र महेन्द्र राय यादव बिरामी भएका कारण आएका थिएनन् । तर उनीहरुले आआफ्ना दलका तर्फबाट बैठकमा प्रतिनिधि भने पठाएका थिए ।

बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादवका साथै रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसहितका नेताहरुको उपस्थिति रहेको थियो ।