काठमाडौं, २५ साउन । भालेश्वर मन्दिरको प्राणप्रतिष्ठा गरेर बहुप्रतिक्षित चन्द्रागिरि केबलकारको सोमबारदेखि औपचारिक शुभारम्भ गरिएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धन गरिएको चन्द्रागिरि केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरको बैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको थियो ।
कम्पनीका संचालक तथा प्रवर्द्धकहरूको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय वासिन्दाहरूलाई आमन्त्रण गरिएको थियो ।
सोमबार कम्पनीका संचालकहरुले केबलकारको व्यवसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्द्रागिरि वरपरका स्थानीय वासिन्दाहरुलाई प्रसाद ग्रहणका लागि निःशुल्क केबलकार चढ्ने व्यवस्था गरिएको थियो ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय वासिन्दाहरुलाई आमन्त्रण गरिएकोमा १० हजार ६४१ जना व्यक्तिहरुले सोमबार केबलकारको निःशुल्क सेवा लिएका थिए ।
प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरुलाई चन्द्रागिरि चुचुरोमा पुर्याउने लक्ष्य रहेकोमा पहिलो दिनमै १० हजारभन्दा बढी व्यक्तिहरुलाई सफलतापूर्वक सेवा दिन सकेकोमा आफूहरु उत्साहित भएको चन्द्रागिरि हिल्स लिमिटेडका अभिषेक बिक्रम शाहले बताए ।

दुईतर्फी टिकटका लागि कूल ७ सय रुपैयाँ शुल्क (भाडा) निर्धारण गरिएको केबलकार मंगलबारबाट दर्शनार्थीका लागि आंशिक संचालनमा आएको छ । आवश्यकीय केहि सुविधा सम्पन्न हुन बाँकी रहेकाले केही समयपछि केबलकार पूर्ण व्यवसायिक संचालनमा आउने हिल्स कम्पनीले जनाएको छ ।
धार्मिक, ऐतिहासिक र सौन्दर्यको त्रिवेणी चन्द्रगिरि
काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २५५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् ।
१. धार्मिक महत्व
देवादिदेव महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वतमा पुग्नुभएको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । भाल पतन भएर उत्पत्ति हनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको हो । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्ण हुने जनविश्वास रही आएको छ ।
२. ऐतिहासिक महत्व
चन्द्रागिरि पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गर्नुभएको थियो ।
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरि हुँदै फर्कनुभएको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गर्नुभएको उहाँका उपदेशमा उल्लेख गरिएको छ । उहाँको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिवेलै आफ्ना राजाको ईच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिसकार प्रा.डा. दिनेशराज पन्तले उल्लेख गर्नुभएको छ ।
पृथ्वीनारायण शाहले यही चुच्चुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गर्नुभएको जनविश्वास समेत रहेको छ ।
३. प्राकृतिक सौन्दर्यको अनुपम पहाड
चन्द्रगिरि पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।
चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमालश्रृंखलाको अवलोकन गर्न पाइन्छ ।
सूर्योदय र सूर्यास्तको अवलोकन लागि चन्द्रागिरि पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो । हिमाललयबाट हुने सूर्योदय र पश्चिमपहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।
पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
















प्रतिक्रिया