
काठमाडौं, २५ साउन । राजधानीमा गुण्डार्दी, अपहरण, चन्दा आतंक लगायतका गतिविधि गर्दै आएका कथित ‘डन’ दीपक मनाङ्गे प्रहरी खोरमा थुनिएका बेला अर्का ‘डन’ चक्रे मिलनका विरुद्ध उजुरी परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा चक्रे मिलनविरुद्ध धमाधम उजुरी परेको स्रोतले जनाएको छ । गैरकानुनी गतिविधि गर्दै आएका चक्रे मिलनले दुःख दिएको भन्दै पीडितहरूले प्रहरी सक्षम उजुरी दिएका हुन् । उजुरी परेपछि प्रहरीले चक्रे मिलनलाई निगरानीमा राखेको जनाएको छ ।
दीपक मनाङ्गे काठमाडौंको ठमेलमा पक्राउ परेका थिए । मनाङ्गे खोरमा रहेका बेला चक्रे मिलनले आतंक मच्चाउन थालेपछि उजुरी परेको हो ।
दीपक मनाङ्गेलाई प्रहरीले अहिलेसम्म कुनै पनि मुद्दा चलाउन सकेको छैन । महानगरीय प्रहरी काठमाडौंका प्रमुख एस.एस.पी. बिक्रम थापाले दीपक मनाङ्गेविरुद्ध संगठित अपराधको मुद्दा चलाउने बताउने गरेका छन् । तर उनले कहिले मुद्दा दर्ता गराउने हुन् अहिलेसम्म खुल्न सकेको छैन ।
स्रोतका अनुसार प्रहरी ईन्काउन्टरमा पर्ने डरले दीपक मनाङ्गेलाई केही प्रहरी उच्च अधिकारीहरूले नै बचाउनका लागि मिलोमतोमा पक्राउ गरेको जनाइएको छ । महाराजगञ्ज क्षेत्रमा बसेर हप्ता असुली, ठमेलका व्यवसायीसँग पैसा उठाउनेलगायतका गतिविधि गर्दै आएका मनाङ्गेले प्रहरी खोरमा पनि उस्तै व्यवहार देखाउने गरेको एक प्रहरीले जनाए ।
दीपक मनाङ्गेले पछिल्लो समय रसुवा जिल्ला हुँदै चीनबाट सुनको तस्करी गर्दै आएको प्रहरी आशंका छ । हालै मात्रै रसुवा नाकाबाट एक सय किलोभन्दा बढी सुन भित्र्याएको आशंकामा प्रहरीले मनाङ्गेलाई पक्राउ गरेको स्रोतको भनाइ छ । मनाङ्गेले सुन ल्याउने गाडीका चालकलाई समेत बेपत्ता बनाएको प्रहरी भनाइ छ ।

हुन त आजकाल दीपक मनाङ्गेले स्याउको व्यापार पनि गर्दै आएका छन् । चीनको तिब्बतबाट स्याउ ल्याउने गरेका दीपक मनाङ्गेले स्याउको डब्बाभित्र सुन लुकाएर तस्करी गर्ने गरेको आरोप छ । प्रहरीले दीपक मनाङ्गेको यो कार्य पनि प्रहरीले थाहा पाएको छ ।
उता, मनाङ्गे खोरमा परेका बेला चक्रे मिलनको गतिविधि अस्वभाविक रुपमा बढेको छ । चक्रेले ठेकेदारहरू धमाधम पैसा संकलन गरिरहेका छन् ।
चक्रेका गतिविधि अस्वभाविक रुपमा बढेपछि प्रहरीले निगरानीमा राखेको महानगरीय प्रहरी अपराध महाशाखा उच्च स्रोतले जनाएको छ । ‘गैर कानुनी काम गर्ने जो कोहीलाई कारबाही हुन्छ’, उच्च स्रोतले भन्यो, ‘चक्रे मिलनका विरुद्ध धमाधम उजुरी आइरहेका छन् । हामी मार्किङमा लागिरहेका छौँ ।’











प्रतिक्रिया