काठमाडौं, २४ साउन । कांग्रेसका नेता नारायण खड्काले सडकमा कसैले संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउने कुरा गर्छ भने त्यो आफ्नो पार्टीलाई कुनै हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । खड्काले भन्नुभयो, ‘यस्तो फाल्तु विषय उठाएर सडकमा चिच्याउँदैमा त्यसको पछि कांग्रेस लाग्दैन, यस्ता कुराले मुलुकलाई अराजकतर्फ लैजान्छ ।’
रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेर सडकमा केही मान्छे उत्रिएपनि त्यसले कुनै फरक नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज अख्तियार प्रमुखलाई भन्नेहरूले भोलि सडकमा उफ्रिएर राष्ट्रपतिलाई वा प्रधानन्याधीशलाई हटाउने कुरा गर्ला, त्यसको पछि कांग्रेस लाग्दैन् ।’
एमालेका सचिव भीम आचार्यले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव बेअर्थको प्रस्ताव भएको टिप्पणी गर्दै भन्नुभयो, ‘यो प्रस्ताव कसैले आफूलाई चर्चित बनाउने उद्देश्यले अघि सारेको हो, यसको कुनै तुक नै छैन ।’ आचार्यले महाअभियोग लगाउने भनेर बजारिया हल्ला पिट्दा यसले अवस्था झनै गिजोल्ने बताउनुभयो ।
माओवादी केन्द्रका नेता दीनानाथ शर्माले बजारमा आउने हल्लाको पछि आफ्नो पार्टी नलाग्ने बताउँनुभयो । उहाँले भन्नुभयो, ‘यो बमौसमको बाजा हो, यसबारेमा हाम्रो पार्टीभित्र केही पनि छलफल भएको छैन् ।’ उहाँले महाअभियोग लगाउनेबारेमा अहिलेसम्म पार्टील सोच्दा पनि नसोचेको बताउनुभयो ।
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सस्तो लोकप्रियता हाँसिल गर्नको लागि महाअभियोगको हल्ला चलाइएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अराजक ढंगले चोर बाटोबाट आएको प्रस्ताव गलत छ, राप्रपा नेपाल यसको पक्षमा छैन ।’
गिरीले अख्तियारको कामकारवाहीबाट भ्रष्टाचारीहरूको मुटू थर्किएको बताउँदै भन्नुभयो, ‘भ्रष्टाचारीको मुटू थर्किए पनि जनता अख्तियारको कामबाट खुशी छन्, योभन्दा अझै कठोर रुपमा अख्तियार प्रस्तुत हुनुपर्छ ।’
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले निहीत स्वार्थ बोकेका व्यक्तिहरूले संवैधानिक निकायका प्रमुखहरूमाथि महाअभियोग लगाउनेबारेमा हल्ला फिँजाएको टिप्प्णी गर्नुभयो ।











प्रतिक्रिया