क्वेटा (पाकिस्तान), २४ साउन । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५३ पुगेको छ ।
यस भीषण बम हमलामा परी कम्तीमा ५६ व्यक्तिको घाइते भएका स्थानीय सञ्चार माध्यम उर्दु र अन्य अधिकारीहरुले जनाएका छन् । उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनका अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उहाँको शव अस्पतालबाट लैजान ठूलो सङ्ख्यामा उपस्थित भएका वकिल, पत्रकारहरुका माझ गराइएका बलुचिस्तान प्रान्तका मुख्य मन्त्री सनाउल्लाह जेहरीले बताउनुभएको छ ।
बार एसोसियसनका ती अध्यक्ष तथा वरिष्ठ वकिल बिलाल अन्वार कसी पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान कसी मारिएका हुन ।
अस्पतालको आकस्मिक कक्षमा शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्य गरी करिब १० किलो विस्फोटक पर्दाथ बोकेका एक आत्मघाती आक्रमणकारी आक्रमण गरेका बताइएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ५३ पुगेको यो सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्यमन्त्री सलेह बलुचले बताउनुभएको छ । रासस/सिन्हवा
















प्रतिक्रिया