श्रीनगर (काश्मिर), २४ साउन । भारत नियन्त्रित काश्मिर उपत्यकामा आइतबार पनि सरकारद्वारा निषेधाज्ञा (कफ्र्यू) आदेश जारी रह्यो ।
यससँगै काश्मिरी इलाकामा पृथकतावादी समूहको सहयोगमा भएको बन्द तथा निषेधाज्ञा अवज्ञाको आन्दोलनले आइतबार ३० औँ दिनमा टेकेको छ ।
सरकारद्वारा तनावलाई नियन्त्रणमा ल्याउन विशेष पहल गरिरहे पनि बेलाबेला भड्किने तनावका कारण आन्दोलनका दौरानमा ५४ जनाले ज्यान गुमाएका छन् ।
झडपका क्रममा छ हजारभन्दा बढी नागरिक घाइते भएका छन् ।
जुलाई ९ मा हिजबुल मिजाहिद्दिन समूहका नेता तथा कमान्डर बुरहान वानीलाई सरकारी सेनाले दोहोरो भिडन्तमा मारेको घटनालाई लिएर सुरु भएको तनाव पछिल्ला दिनसम्म आउँदा थप आक्रामक देखिएको छ ।
सरकारले तनाव सिर्जना गर्न विभिन्न विद्युतीय तथा समाचार संस्थाहरुको दुरुपयोग गरेको भन्दै उक्त क्षेत्रमा लामो समयदेखि मोबाइल इन्टरनेटको सेवामा राज्यद्वारा नियन्त्रण गरिएको छ ।
आन्दोलनकारी पृथकतावादी समूहले काश्मिर उपत्यका बन्दको कार्यक्रमलाई लम्ब्याएर अगस्ट १२ सम्म पु¥याउने बताएको छ । त्यसपछि स्थानीय नागरिकलाई आफ्नो घर वरपर तथा अस्पतालमा सरसफाई अभियान गर्दै आन्दोलनलाई विसर्जन गर्न आग्रह गरेको छ । –पीटीआई















प्रतिक्रिया