काठमाडौं, २३ साउन । मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)ले निर्वाचनमा भाग लिने गरेर ‘संयुक्त जनगणतान्त्रिक मोर्चा’ दर्ता गर्ने निर्णय गरेको छ ।
साउन १९ गते राजधानी सम्पन्न माओवादी क्रान्तिकारीको केन्द्रीय कार्यसमिति बैठकले खुला मोर्चाका रुपमा ‘संयुक्त जनगणतान्त्रिक मोर्चा’मार्फत निर्वाचन आयोगमा दर्ता भइ गतिविधि गर्ने निर्णय गरेको हो ।
मोर्चाको नेतृत्व उपाध्यक्ष सीपी गजुरेललाई दिइएको केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । ‘निर्वाचनमा भाग लिने गरेर मोर्चा गठन गर्ने निर्णय भएको छ’, ज्ञवालीले भन्नुभयो, ‘मोर्चाले जनजीविकादेखि जनताका सवालमा संघर्ष गर्नेछ ।’
यसैवीच, संयुक्त जनगणतान्त्रिक मोर्चाको भावी कार्यदिशा र कार्यसमितिलगायतका विषयमा छलफल गर्न भदौको दोस्रो साता राष्ट्रिय भेला पनि आह्वान गरिएको छ । भेलाले दिने म्याण्डेटअनुसार अगाडि बढ्ने ज्ञवालीले बताउनुभयो । भदौको १६, १७ र १८ गते राजधानीमा हुने मोर्चाको प्रथम राष्ट्रिय भेलाका लागि तयारी सुरु भएको उहाँले बताउनुभाये ।
नेकपा (माओवादी क्रान्तिकारी)लाई भूमिगत शैलीमा राखिनेछ । मोर्चाले नै सबै आफ्ना गतिविधि अगाडि बढाउनेछ ।
माओवादी क्रान्तिकारीले आफ्नो केन्द्रीय समितिमा पनि केही सदस्यहरू थप गरेको छ । केन्द्रीय सल्लाहकार समितिलाई पनि विस्तार गर्नुका साथै विभिन्न राजनीतिक निर्णय गरेको केन्द्रीय सदस्य ज्ञवालीले बताउनुभयो ।











प्रतिक्रिया