१ कार्तिक २०८३, शनिबार

जलविद्युत परियोजनामा बीस करोड घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydro

पाँचथर, २२ साउन । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ ।

गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय नाकाबन्दी र स्थानीयवासीको अवरोधका कारण निर्माण कम्पनीलाई त्यतिको घाटा लागेको बताइएको छ ।

आयोजनाको निर्माण कम्पनी माउन्टेन हाइड्रो प्रालि नेपालका अध्यक्ष सिताराम तिम्सिनाका अनुसार भूकम्प र त्यसपछिको सयाँैं पराकम्पका कारण आयोजनाको काम प्रभावित बनेको थियो ।

त्यस्तै लामो समयसम्म कायम रहेको भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थसँगै अन्य आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा गतवर्षको भदौ महिनादेखि बन्द भएको आयोजनाको काम फागुन महिनादेखि मात्र सुचारु भएको अध्यक्ष तिम्सिनाले बताउनुभयो ।

यता विभिन्न माग राख्दै स्थानीयवासीले गरेको अवरोधका कारण पनि करोडौँं घाटा बेर्होेर्नु परेको उहाँको भनाइ छ ।

विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्नेछ । हाल पाँचहजार ३०० मिटर टनेलमध्ये ४ हजार मिटर टनेल निमार्ण भइसकेको छ । बाँधको कार्य ५० प्रतिशत सकिएको छ । अबको नौ महिनाभित्रमा पावर हाउस निमार्णकार्य सम्पन्न हुनेछ । काममा कुनै अवरोध नआए त्यसको दुई महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने प्रालिका अध्यक्ष तिम्सिनाले बताउनुभयो । प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको रु तीन अर्ब ६६ करोड लगानीमा सुरु भएको आयोजना सम्पन्न भएपछि २१ मेगावट विद्युत् उत्पादन हुनेछ । तर आयोजनाको लागत थप रु २० करोड बढ्ने भएको छ ।

आयोजनाको काम सुरु हुनुभन्दा अगाडि कम्पनीले स्थानीयवासीसँग १० बुँदे सम्झौता गरेको थियो । तर कम्पनीले सम्झौता अनुसार सिँचाइ, पिउने पानी आदिको व्यवस्था गर्न अटेर गरेको भन्दै स्थानीयवासीले आयोजनाको काममा अवरोध पु¥याउँदै आएका छन् ।

आयोजना निर्माणको क्रममा फिदिम–४, स्थित डाँडा सामुदायिक वन, फिदिम– ५, स्थित देउराली सामुदायिक वन र स्थानीयवासीको गरी १२ हेक्टर जग्गा अतिक्रमण भएको छ ।

कम्पनीले उक्त जग्गाको मुआब्जा अझै पनि उपलब्ध नगराएको स्थानीय सरोकार समितिका अध्यक्ष प्रेमप्रसाद लिम्बूले बताउनुभयो । कम्पनीले स्थानीयसँग गरेको १० बुँदे सम्झौता इमानदारिताका साथ पूरा नगरे अझै आयोजनाको काम प्रभावित हुने अध्यक्ष लिम्बूको भनाइ छ । रासस