११ कार्तिक २०८३, बुधबार

के गर्दै छन् वामदेव ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautamकाठमाडौं, २२ साउन । एमाले उपाध्यक्ष वामदेव गौतम संसदीय दलको नेताको निर्वाचन र महाधिवेशनका वेला दिएको वचन पूरा नगरेको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट छन् ।

गौतमकै सहयोगमा ०७० माघमा ओली तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै दलको नेता र ०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै अध्यक्ष बनेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तर, गत वर्ष २४ असोजमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भने दुई नेताबीचको सम्बन्ध औपचारिकतामा मात्रै सीमित छ ।

ओलीसँग गौतमका असन्तुष्टि

१. नेता वा कार्यबाहक अध्यक्ष दिइएन

मदन भण्डारी फाउन्डेसनको कार्यालय गौशालामा १८ माघ ०७० मा दुई नेताबीच आपसमा सहयोग गर्ने सहमतिपछि ओली संसदीय दलको नेता निर्वाचित भएका थिए । ओलीले तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा गौतमलाई पार्टीको तर्फबाट नेतृत्व गर्नेगरी उपप्रधानमन्त्री र गृहमन्त्री बनाए । २४ असोजमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि गौतम पार्टी काममा फर्किए । तर, अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा आफूलाई कार्यबाहक अध्यक्ष बनाउने वचन पूरा नगरेको गौतमको आरोप छ ।

गौतमले नयाँ पत्रिकासँग भने, ‘पार्टीको नवौँ महाधिवेशन घोषणा भएपछि उहाँ (ओली)ले मलाई अध्यक्षमा सहयोग गर्नुस्, म अध्यक्ष भइसकेपछि संसदीय दलको नेता केही (परिवर्तन) नगरौँ । तर, भविष्यमा एमालेलाई प्रधानमन्त्री बन्ने अवसर आयो भने म प्रधानमन्त्री हुँदा तपाईं पार्टी अध्यक्ष, यदि म अध्यक्ष रहिरहेँ भने तपाईं प्रधानमन्त्री । यसरी हामीले मिलेर काम गर्नुपर्छ भन्नुभएको थियो । तर, त्यो वचन किन पूरा गर्नुभएन उहाँ (ओली)ले नै जान्ने कुरा हो ।’

अब पार्टी अध्यक्ष बन्न विधान बाधक

एमालेले नवौँ महाधिवेशनबाट पारित विधानमा ७० वर्ष उमेर कटेका कुनै पनि नेता केन्द्रीय कमिटीमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । २५ असार ००५ मा प्युठानमा जन्मिएका गौतमको उमेर ०७६ मा हुने दशौँ महाधिवेशनमा ७१ वर्ष पुग्नेछ । यसकारण उपाध्यक्ष गौतमलाई दशौँ महाधिवेशनमा अध्यक्ष बन्न उमेर बाधक हुनेछ । उनी यही कार्यकालमा पार्टी अध्यक्षमा पुग्न चाहन्छन् । तर, उनको चाहना ओलीमा निर्भर हुनेछ । विधानमा अध्यक्ष देशबाहिर जाँदा मात्रै उपाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था छ ।