काठमाडौँ, २१ साउन । राप्रपा र राप्रपा नेपालका शीर्षस्थ नेतृत्व दुवै पार्टीलाई चाँडै एकता गर्न सहमत भएका छन् ।
राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच आज भएको पार्टी एकतासम्बन्धी बैठकमा मेलमिलापको प्रक्रियालाई छिट्टै टुङ्गोमा लैजान सहमति भएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
बैठकमा राप्रपा नेपालका अध्यक्ष थापाले दुवै पार्टीको एकीकरण अगाडि राप्रपालाई सरकारमा नजान आग्रह गर्नुभयो । राप्रपाका अध्यक्ष राणाले भने एकताको प्रक्रिया र सरकारमा सहभागी हुने विषय फरक भएको र पार्र्टीले सरकारमा सहभागिता जनाउने निर्णय गरिसकेकाले त्यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
पार्टी एकताका लागि अन्तरिम विधान अन्तिम चरणमा पुगेको बताइएको छ । एकता प्रक्रिया पूरा हुन गाउँ, नगर र क्षेत्र हुँदै करिब चारदेखि छ महिनाको समय अवधि लाग्ने जनाइएको छ ।
राजदूत नियुक्ति उल्टाएकामा दुःख व्यक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पूर्ववर्ती सरकारले गरेको राजदूत लगायत नियुक्ति उल्टाएकामा दुःख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो परम्पराले अराजकता र अस्थिरता निम्त्याउने चेतावनी दिएको छ ।
प्रवक्ता राजाराम श्रेष्ठका अनुसार सत्ताभन्दा पार्टी नैतिक धरातलमा रही राप्रपासँगको एकीकरणलाई अगाडि बढाउने निर्णय भएको छ । बैठकमा पार्टी सरकारमा सहभागी हुँदा गरेका महत्वपूर्ण निर्णय तथा कार्यको समीक्षा भएको थियो । रासस












प्रतिक्रिया