काठमाडौं, २० साउन । साउनका २३ गतेबाट सुरु हुन लागेको ११औँ महाविधेशनको सम्पूर्ण तयारी पूरा भएको नेविसंघले जनाएको छ ।
नेविसंघका प्रवक्ता यूपी लामिछानेले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएका हुन् । महाधिवेशनमा करीब ३४ सय प्रतिनिधि सभागी हुने छन् । पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते १ बजे काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा सभागी हुने प्रतिनिधिहरूलाई हालसालै खिचिएको ३ प्रति फोटो, आफ्नो परिचय स्पष्ट खुल्ने परिचयपत्र, नागरिकता वा लाइसनसहित आउन सर्कुलर गरिएको प्रवक्ता लामिछानेले उल्लेख गर्नुभयो ।
प्रचार प्रसार, होटल बुकिङ, नीति कार्यक्रम, शैक्षिक दस्तावेज लेखन सबै कार्य सम्पन्न भएको छ ।
६४ जिल्लाको प्रतिनिधिहरूको सूची कांग्रेसमा बुझाई सकिएको जनाएका प्रवक्ता लामिछानेले बाँकी रहेका ११ जिलाहरूको विवादलाई मिलाउने कार्य पनि सम्पन्न भइसकेको बताए ।
महाधिवेशनका लागि कुल १ करोड ७८ लाख ८० हजार खर्च हुनेछ । आर्थिक ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी माउ पार्टी कांग्रेसले लिएको बताएका लामिछानले भने, ‘कहीँ कतै आर्थिक सहयोग नउठाउन सबै नेताहरूलाई निर्देशन दिइएको छ ।’
नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दुई प्रतिस्पर्धी मनोजमणि आचार्य र नैनसिंह महरले दाबी गर्दै आएका छन् । अध्यक्षमा रहर गरेर उम्मेदवारी घोषणा गर्नेमा झण्डै दर्जन नेताहरू छन् । तर, अन्तिम प्रतिस्पर्धा आचार्य र महरवीच हुने विद्यार्थी नेताहरूको भनाइ छ । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । महर सभापति शेरबहादुर देउवा निकटका हुन् ।











प्रतिक्रिया