– मोहन पौडेल
परासी, १३ साउन । स्थानीय निकाय पुर्नसरचनाको काम नवलपरासीमा सुरु भएको छ । गाउँपालिका, नगरपालिका, विशेष संरक्षीत वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग अन्तरगत जिल्ला स्तरमा गठित स्थानीय तह पुर्नसरचना प्राविधिक सहयोग समितिले नवलपरासीका राजनितिक दलहरुलाई कार्यविधिबारे जानकारी गराएको छ ।
स्थानीय विकास अधिकारी संयोजक रहने प्राविधिक समितिले नवलपरासीमा पनि पुर्नसरचनाको कार्य थालनी गरेको प्राविधिक सहयोग समितिका सदस्य सचिव तथा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।
उहाँका अनुसार अव केहि दिनमै प्राविधिक सहयोग समितिको बैठक वसेर मापदण्ड निर्धारण गरि गाविस सचिवहरुलाई अभिमुखिकरण गर्ने तथा राजनितिक दलहरु सँग परामर्श गरेर पुर्नसरचनाको कार्य अगाडि बढ्नेछ । गाउँपालिका, नगरपालिका, विशेष संरक्षीत वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले नवपरासी जिल्लालाई भित्रि मधेस अन्तरगत राखी अधिकतम ११ वटा सम्म स्थानीय तह बनाउन सकिने मापदण्ड तोकेको जिविसका योजना फाँट प्रमुख पुरुषोत्तम ढकालले बताउनुभयो ।
पुनःसंरचना गर्दा जिल्ला सदरमुकाम अन्तरगत पर्ने नगरपालिका अर्थात रामग्राम नगरपालिकामा ९५ हजार जनसंख्या पुराउनुपर्ने भएको छ । यस्का लागि कुन कुन गाविस गाभ्ने भन्ने विषयमा आवश्यक छलफल हुने बताईएको छ ।
यस्तै सदरमुकाम बाहेकका अन्य शहर केन्द्रीत नगरपालिकाका लागि पचास हजार जनसंख्या हुनुपर्ने निर्धारण गरिएको छ भने पहाडि क्षेत्रमा गाउँपालिका बनाउन २५ हजार जनसंख्या हुनुपर्ने पहाडि क्षेत्रमै नगरपालिका बनाउन ३५ हजार जनसंख्या हुनुपर्ने मापदण्ड रहेको ढकालले बताउनुभयो ।












प्रतिक्रिया