काठमाडौं, ११ साउन । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनलाई आन्तरिक मामला भनेको उत्तरी छिमेकी चीनले त्यसमा भारतको हात रहेको दाबी गरेको छ ।
मंगलबार चीनको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै सरकार परिवर्तनलाई नेपालको आन्तरिक मामला भनेको थियो भने सरकारी पत्रिका ग्लोबल टाइम्सले ओलीको राजीनामा भारतको हात रहेको उल्लेख गरेको छ ।
नेकपा माओवादीले केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीले साउन ९ गते पदबाट राजीनामा दिएका थिए ।
ओलीले राजीनामा दिएको दुई दिनपछि उक्त पत्रिकामार्फत एक चिनियाँ बुद्धिजीवी वाङ देहुवाले प्रधानमन्त्री ओलीको राजीनामामा भारतको हात रहेको दाबी गरेका हुन् । वाङ अन्तर्राष्ट्रिय अध्ययनका लागि साङघाई महानगरीय केन्द्रका दक्षिण तथा मध्य एसिया निर्देशक हुन् ।
ओलीको राजीनालाई भारतले ‘गुड न्यूज’ भनिरहँदा चिनियाँ बुद्धिजीवी वाङले भनेका छन्- ‘सम्भवतः ओलीको राजीनामाको पछाडि भारत छ, किनकि ओलीले आफ्नो चीन भ्रमणका बेला गरेका सम्झौताले भारत रिसाएको थियो ।’
वाङले नेपालमा स्थिरता आए मात्रै सीमा सुरक्षाबारे भारत र चीनको चिन्ता सम्बोधन हुने उल्लेख गरेका छन् । नेपाल र चीनबीचको सुमधुर सम्वन्ध नै भारतको पनि हितमा रहने उनको भनाई छ ।
यसअघि नाकाबन्दीका बेला चीनले भारतकै कारण नेपालको विकास पछि परेको बताएको थियो ।













प्रतिक्रिया