१ कार्तिक २०८३, शनिबार

खोटो संकलनमा खोटैखोट, जिल्ला वन कार्यालय मुखदर्शक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhale ko Salla– झलक पाली

डोटी, १० साउन । डोटीका विभिन्न वनहरुमा भईरहेको खोटो संकलनमा चरम लापरवाही रहेको देखिएको छ । जिल्ला वन कार्यालय भने मुखदर्शक बनेको आरोप स्थानीय लगाएका छन् ।

खोटो संकलक कम्पनी दीव्या रोजिन एण्ड टर्पेनटाईन लिमिटेड प्रा.लि.को कार्यक्षेत्रमा बढी अस्तव्यस्त देखिएको छ ।

उक्त कम्पनीको कार्यक्षेत्र घण्टेश्वर गाविसको वडा नं. ६ र ७ मा रहेको बारपाखे सामुदायिक वनमा मापदण्ड नपुगेका कलिला सल्लाका बोटहरुबाट चरम खोटो दोहन भईरहेको प्रत्यक्ष देख्न सकिन्छ ।

त्यस्तै लक्ष्मीनगर, सरस्वतीनगर गाविसका विभिन्न सामुदायिक वनहरुमा पनि यो भन्दा समस्या फरक छैन । ति क्षेत्रमा एउटै रुखमा ४÷५ वटासम्म घाउ लगाई खोटो दोहन भईरहेको छ ।

नेपाल सरकार र दीव्या रोजिनबीच वि.सं. २०६३ फाल्गुन १४ मा भएको सम्झौता बमोजिम हाल जिल्लाका चार वटा गाविसहरु घण्टेश्वर, लक्ष्मीनगर, सरस्वतीनगर र छतिवनमा खोटो संकलनको काम गरिरहेको छ ।

डोटीका जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले सरस्वतीनगर गाविसको वडा नं. २ ठूल्ढुङ्गामा रहेको रछेडा राष्ट्रिय वनमा आफै पुग्दा अवस्था कमजोर देखेका कारण खोटो संकलन कार्य बन्द गरेको बताए पनि त्यहाँ अहिले पनि खोटो संकलन भईरहेको गोप्य श्रोतले जानकारी दिएको छ ।

यस विषयमा दिव्या रोजिनका त्यस क्षेत्रका सुपरभाईजर टेकबहादुर मल्लले स्विकार पनि गरेका छन् । त्यहाँका सुपरभाईजर सोपान सिं मल्ल भएता पनि उनी गएको फाल्गुनदेखि बिदामा बसेकाले उक्त जिम्मेवारी टेकबहादुरले सम्हालिरहेका छन् ।

खोटो संकलक कम्पनीले आफुले काम गर्ने वनहरुमा रुख गणना गरी धातु वा एल्मोनियमको पातामा स्पष्टसँग नम्बरिङ् गर्नुपर्ने खोटो संकलन निर्देशिका २०६४ मा प्रावधान छ । तर दिव्या रोजिनले आफ्नो कार्यक्षेत्रमा निर्देशिका बमोजिम सल्लाका रुखहरुमा नम्बरिङ् पनि गरेको छैन ।

हरेक पाँच वर्षमा रुख गणना गर्नुपर्ने र यसबिचमा नाशिएका वा मरेका रुखहरुबारे कारण सहित वन कार्यालयलाई पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर जिल्ला वन कार्यालयमा रुख गणना र सल्ला मासिनुको कारण कुनै पेश गरिएको छैन । सल्ला भने एउटै वनमा सयौंको संख्यामा नासिएका छन् ।

त्यस्तै रुखमा लगाईने घाउहरु र त्यसमा छर्किने एसिड पनि मापदण्ड अनुसार नभएको स्थानियको गुनासो छ ।

खोटो संकलन गर्दा प्रयोग गर्ने एसिड (तेजाव) अत्यधिक कडा प्रयोग गरिने भएका कारण गमलामा वर्षातको पानी र एसिड जम्मा हुने र वनमा बाख्राहरुले खाँदा यस भन्दा पहिले केहि ठाउँमा बाख्रा मरेका समेत थिए ।

त्यस्तै दोहन गरिने खोटो बाहिर पोखिएर खेर नजाओस भन्नका लागि टिनको पत्ती लगाएर गमला (कुपी) जम्मा गर्नुपर्ने व्यवस्था छ । त्यो पनि गरेको देखिंदैन ।

एक सिजनमा खोटो निकाल्न बनाईएको ब्लेजमा ३२ वटा रिलहरु बनाउन सकिने व्यवस्था भए पनि ५०÷५२ सम्म रिलहरु बनाईएको स्थानीय बताउँछन् ।

यि यावत समस्या ज्यूँ का त्यूँ भए पनि खोटो संकलन निर्देशिका अनुसार खोटो संकलन भईरहेको क्षेत्रमा अनुगमन गर्नुपर्ने सम्बन्धीत रेञ्जपोष्ट जोरायल ईलाका वन कार्यालयका ईन्चार्ज सचिदानन्द सिंह आफुलाई थाहा नभएको बताउँछन् । गुनासो आएका वनहरुमा पत्राचार गरेर नियमसँगत काम गर्ने निर्देशन दिंदै आएको उनि बताउँछन् । जुन कागजी निर्देशन मात्रै हो ।

खोटो संकलन निर्देशिकाको परिच्छेद ३ को ८ (१) मा व्यवस्था भए अनुसार खोटो संकलन भईरहेका रुखहरु र त्यस वन क्षेत्रको संरक्षण गर्ने दायित्व सम्बन्धीत खोटो संकलक उद्योग वा निकायको रहने व्यवस्था छ । तर दिव्या रोजिनको कार्यक्षेत्रमा भने निर्देशिकाको उपहास भएको छ ।

यस विषयमा दिव्या रोजिन एण्ड टर्पेनटाईन प्रा.लि. अत्तरीया कैलालीका टेपिङ्ग प्रमूख खडक बहादुर बमले प्रक्रिया मिचिएका क्षेत्रका लेबर (कामदार) र कर्मचारीलाई कार्वाहीको दायरामा ल्याउने आश्वासन दिए । उनले भने–‘भोलि नै हाम्रो कम्पनीका रेञ्जर योगेन्द्र ठाकुरलाई त्यस क्षेत्रमा खटाउँछु, वनको अवस्था हेरेर गल्ती गर्ने कामदार त कारवाहीको भागेदार हुन्छ नै सम्बन्धीत क्षेत्रको कर्मचारिलाई जागिरबाट निलम्बन पनि गरिन्छ ।’

वनमा खोटो दोहनमा भईरहेको अनियमितताका विषयमा निमित्त जिल्ला वन अधिकृत रामेश्वर खकुरालसँग बुझ्दा जिल्ला वन अधिकृत जिल्ला बाहिर रहेकाले आफुले धेरै कुरा भन्न नसक्ने बताए । कार्यालयका सूचना अधिकारी समेत रहेका खकुरालले खोटो संकलन भईरहेका वनहरुको अवस्था नाजुक रहेकाले काममा सुधार गर्न र सकभर खोटो संकलन कार्य बन्द नै गर्नुपर्ने बताए । उनले भने–“म गएको मंशिरमा मात्रै डोटीमा आएको हो, मैले पनि केहि वनमा हेरेको छुँ, वनको अवस्था चिन्ताजनक छ । सकिन्छ भने खोटो संकलन बन्द गर्नुपर्छ ।”