२ कार्तिक २०८३, सोमबार

कृषिमा नमूना बन्दै जिनाबाङ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jinabang Apple– जीवन डाँगी

रोल्पा, १० साउन । रोल्पा जिल्लाको पश्चिम भेग जिनाबाङका कृषकहरुले बिभिन्न कृषि व्यवसायबाट राम्रै आर्यआजन गर्दै आएका छन् । त्यस क्षेत्रमा आलु, स्याउ, मुला, मकै र पछिल्लो समय बाख्रा पालनमा धेरै युवा पुस्ताहरु आर्कषित हुँदै गएका छन् ।

कृषिमा राम्रो आम्दानीको सम्भाबना देखेपछि वैदेशिक रोजगारीबाट आएका युवा तथा बिभिन्न पेसामा आवद्ध व्यक्तिहरूले पनि कृषि व्यवसायमा लगानी गर्न थालेका हुन् ।

जिनाबाङ ९ नाउलीमा १६ जना कृषक मिलेर १४ लाख ९२ हजारको आफ्नै लगानी र किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमको १४ लाख ९२ हजार अनुदानमा बाख्रापालन सुरु गरेका छन् । उनीहरुले गाँउमै हरियाली बाख्रा फार्मको नाममा समूह दर्ता गरी व्यवसायिक रुपमा १ सय ३० बटा बाख्रा पाल्र्दै आएका छन् ।

कृषि व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि सामूहिक रुपमा बाख्रापालनमा लागेको समूहका संरक्षक जीतबहादुर वलीले बताए । वली गाँउकै एक प्राथमिक विद्यालयका स्थायी शिक्षक पनि हुन् ।

पछिल्लो समय उनले शिक्षक मात्रै नभई उदाहरणीय कृषकका रुपमा समेत परिचय बनाउन थालेका छन् । वलीले एक बिगाहा जग्गामा आलु खेती र १ सय ५० बोट स्याउ बाट रामै आर्यआर्जन गरेका छन् ।

कृषि ब्यबसायबाट मात्रै बर्षेनी तीन लाख आम्दानी गर्दै आएको वलीले बताए । साथै उनले आफ्नै व्यक्तिगत लगानीमा बाख्रापालन समेत गरेका छन् । ४० बटा बाख्रा समेत उनले पालेको र त्यसलाई बढाएर लैजाने ईच्छा वलीले व्यक्त गरे ।

Goatजिल्लाकै नमूना बाख्रा फार्म बनाउने उद्देश्यमा छन् जिनाबाङ ४ का कृषक लोकमान वली । वलीले बाख्रा पालन सुरु गरेको दश बर्ष भयो ।

उनलाई अहिले सम्म कुनै निकायबाट केहि पनि सहयोग प्राप्त भएको छैन । ब्यक्तिगत रुपमा ‘वली बाख्रा पालन फार्म’ दर्ता गरेका उनका अहिले १ सय ११ वटा बाख्रा रहेका छन् ।

वलीले करिब २६ लाखको व्यक्तिगत लगानीमा करिब ५० हातको बाख्रा पाल्ने घर बनाउदै छन् । उनी भन्छन् ‘म जिल्लाकै नमूना फार्म बनाउने उद्देश्यमा छु ।’ ३५ हजारको लगानीबाट सुरु गरेको बाख्रापालन सगैँ उनले आलु, स्याउ खेती समेत गरेका छन् । आफै पुगेर हौसला दिन जाने ठाँउमा, अहिले सम्म बोलाउदा समेत सम्बन्धित निकायका कोही पनि आफ्नो फार्ममा नगएकोमा वलीको ठुलै गुनासो रहेको छ ।

यसैगरी जिनाबाङ ४ का कुल बहादुर केसी नेपाली काङग्रेसका स्थानीय नेता हुन् । केसीले राजनीतिसँगै कृषिलाई पनि प्राथामिकतामा राखेका छन् ।

उनले बिभिन्न कृषि ब्यबसायबाट बर्षेनि कम्तीमा पाँच लाख आम्दानी गर्दै आएको जानकारी दिए । केसीले करिब दुई सय बोट स्याउ र ३ बिगाहा आफ्नै जमिनमा आलु खेती समेत गरेका छन् । कृषि ब्यबसायबाट आफु सन्तुष्ट रहेको समेत उनले बताए ।

रोजगारीका लागि ६ वर्ष मलेसिया बसेर घर फर्किएका जिनाबाङ ९ का हुकुम बहादुर डाँगीको पनि अहिले ३७ बटा बाख्रा छन् ।

जिनाबाङ ७ का शेर बहादुर डाँगी जिनाबाङ श्रोत केन्द्रका श्रोत ब्यक्ति हुन् । उनी आफ्नो पेशा बाहेक जिनाबाङकै उदाहरणीय कृषक मध्येका एक हुन् ।

डाँगीले कृषि ब्यबसायबाट मात्रै बर्षेनी ४ लाख बढि आम्दानी गर्दै आएको बताउछन् । आलु, टिमुर, भाजी, मुला, सिमी आदी उनको आम्दानीका श्रोत हुन् ।