जुम्ला, ९ साउन । दुई वर्षअघि न्यूजिल्याण्डबाट जुम्लामा ल्याईएका रोम्नी मार्स र कुपोर्थ जातका भेडा संरक्षण कार्य जटिल बन्दै गएको छ ।
भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम जुम्लाले दुवै जातका २५ भेडा नेपाली सेनाको स्काईभेटरको साहयताले आकाश मार्गबाट जुम्ला पुगाएको थियो ।
न्यूजिल्याण्डबाट काठमाडौं हुँदै जुम्ला पुगाउँदासम्म रु.१० लाख बराबर २५ भेडाको लागत पुगेको गुठीचौर जुम्लाका तत्कालीन् संयोजक लुमानिधि पाण्डेले बताउनु भयो ।
अहिले अनुसन्धान कार्यक्रम जुम्ला र केन्द्रीय भेडाबाख्रा कार्यालयलाई यी भेडा जोगाउन निकै ठूलो संकट आईलागेको भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गोठीचौर जुम्लाका निमित्त कार्यालय प्रमुख बोधराज बरालले जनाउनुभयो । मुख्यतः हावापानी नमिलेका कारण भेडा जोगाउन मुस्किल भईरहेको छ, तथापि यसको विकल्प हामीले सोचिरहेका छौं, उहाँले भन्नुभयो ।
लेखा अधिकृत जुद्धबहादुर कार्कीले यहाँ पुर्याईएका २५ वटा भेडामा मध्य ७/८ वटा मरिसकेको बताउनुभयो । उहाँका अनुसार केही जन्मेर फेरी २२ पुगेका छन् भने क्रसबाट जन्मिएका ३० भेडा भने राम्रो अवस्थामा छन् । बाँकी रहेका र नयाँ जन्मेका भेडाहरु जोगाउन उच्च व्यवस्थापन पुग्न नसकेको हुन सक्ने जनाइएको छ । चिसोको कारण भेडाहरुमा स्वासप्रश्वास बढी हुने, नाकबाट पानी चुवाउने, खान मन नगर्ने र कमजोर हुदै निमोनियाले बढी ग्रसित भएर मर्ने गरेको अनुसन्धान केन्द्रले बताएको छ ।
भेडा सम्बन्धी विशेषज्ञता भएका वैज्ञानिकहरुको अभावका कारण सामान्य उपचार बाहेक थप उपचार हुन नसक्नुले व्यवस्थापन कार्य संकटोन्मुख अवस्थामा पुगेको लेखा अधिकृत कार्कीको भनाई छ । यिनै जातका भालेबाट स्थानीय पोथीहरुमा क्रस गराई बच्चा उत्पादन समेत गरिएको छ । स्थानीय भेडाहरुसँग क्रस गरेर यो जातलाई फैलाउने र यसको ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गर्ने मुख्य उद्देश्यका साथ भेडा ल्याईएको थियो ।
आ.व. ०७०/०७१ म नेपाल सरकारले विनियोजन गरेको बजेटले नै २६ भेडा जुम्ला र २६ नुवाकोट जिल्लाको पानसय खोला भेडाफार्मको लागि खरिद गरिएको थियो । यो कार्यक्रम सफल मन्त्रिपरिषद अध्यक्ष खिलाराज रेग्मीको सरकारले गरेकोमा उच्च प्रशंसा समेत गरिएको थियो ।
नेपालले विश्व व्यापार संगठनमा कुनैपनि देशले आफ्नो देशमा ८ प्रतिशत कच्चा पदार्थ उत्पादन गर्नुपर्ने सम्झौता गरेपनि अहिलेसम्म त्यसो गर्न नसकेको बताउँदै नार्कले केही हदसम्म मुलुकलाई टेवा पुर्याउने लक्ष्य राखे बमोजिम जुम्ला र नुवाकोटमा यो जातका भेडापालन गरेको जनाएको छ ।
















प्रतिक्रिया