उदयपुर, ६ साउन । सडक संजाल विस्तार नहुँदा उत्पादित कृषिजन्य वस्तु विक्रीवितरणमा समस्या भएको एक कार्यक्रमका सहभागि कृषकहरुले बताएका छन् ।
पेसोक उदयपुरले आयोजना गरेको बार्षिक समिक्षा तथा सार्वजानिक सुनवाई कार्यक्रममा सहभागि कृषकहरुले यस्तो गुनासो पोखेका हुन् । उनीहरुले विभिन्न निकायको सहयोगमा कृषिलाई व्यवसायिकतामा लैजाने कार्यक्रम आएपनि वजार अभावमा उत्पादित बस्तु खेर जाने गरेको गुनासो पोखे ।
कृषकहरुले ग्रामिण क्षेत्रमा सडक सञ्जाल विस्तार नुहनु, भएका पनि बेलामौकामा मर्मतसम्भार नहुनु, यातायाताका साधन नचल्नुले उत्पादित कृषिजन्य वस्तु बजारसम्म ल्याउन नसकेको बताए ।
सहभागि वारहाका कृषक गुरुमणी कुमाईले सिजनमा उत्पादन भएका तरकारी तथा फलफूल सडक र यातायात समस्याकै कारण बारीमै सडने गरेको बताए । ‘सकेजति खायो, गाउँमा बाँडयो त्यो पनि उव्रिन्छ,’ कुमाईले भने, ‘पशुचौपायले खान्छन नसकेको कुहिन्छ, वजार पुर्याउने साधन छैन् ।’
गुरुमणिसँगै भुट्टार, नामेटार, वारहा गाबिसका कृषकहरुका समस्या उस्तैछन् । यी क्षेत्रमा गरिव जनताको जीवनस्तर उकास्न गरिवी निवारण कोसले पेसोकसँगको साझेदारीमा तीन करोड ६४ लाख ३६ हजार ५ सय ७० रुपैँया लगानी गरेको छ । तर उनीहरुले गरेको मेहनतको फल पाउन सकेका छैनन् ।
कोषले साझेदार संस्थासँगको सहयोगमा सामुदायिक संस्था गठन गरी निम्न वर्गका कृषकलाई पशुपालन व्यवसाय, किराना पसल, सिलाईकटाई, आरनव्यवसाय, तरकारी तथा फलफूल खेती लगायतका परियोजना सञ्चालन गरेको पेसोकका कार्यकारी निर्देशक सृजना दनुवारले जानकारी दिईन । यसका साथै लघुजलविद्युत, खानेपानी आयोजना सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम सञ्चालन भएयता भुट्टार, नामेटार, वारहा गाबिसमा ६ वटा लघुजलविद्युत परियोजनामार्फत दुई सय ९८ घरधुरीमा विजुलीवत्ति, ७ वटा खानेपानी परियोजनामार्फत एक सय ४९ परिवारमा स्वच्छ पीउने पानी, एक सय ९७ परिवारमा सुधारिएको चुल्हो सञ्चालनमा रहेको दनुवारले जानकारी दिईन ।
कार्यक्रममा संस्थाले विभिन्न निकायको सहयोगमा सञ्चालन भएका दश वटा कार्यक्रमका अबस्था, देखिएका चुनौती, भएका प्रगतिका बारेमा कार्यक्रम संयोजकहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले गरिवी निवारण कोषको सहयोगमा समुदाय सशक्तिकरण परियोजना, जिविसको स्थानीय साशन तथा समुदाय विकास कार्यक्रम, दलित तथा पीछडिएको वर्गको आयआर्जनको लागि वाख्रापालन, जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयको खानेपानी तथा सरसफाइ परियोजना, त्रियुगा नपाको सुधारिएको चुल्हो निर्माण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी बेल्टारको सहयोगमा लैगिंक उत्तरदायी तथा सामाजिक समोवशी वजेट तर्जुमा एवं परिक्षण कार्यक्रम, बालभित्ते पत्रिका प्रकाशन तालिम, स्वास्थ्य कार्यालयको स्वास्थ्यचौकीहरुको सामाजिक लेखापरीक्षण, वल्र्डभिजनको मातृ शिसु स्वास्थ्य तथा पोषण परियोजना र गाउँघर किल्निक सुदृढिकरण परियोजना सञ्चालन गर्दै आएको निर्देशक दनुवारले बताईन ।
कार्यक्रममा सहभागी राजनीतिक दलका नेता र सरोकारवालाहरुले कृषकका आवाजलाई जिल्ला स्तरमा छलफल गरी सके स्थानीय स्तरबाटै नसके माथिल्लो निकायबाट सम्बोधन गरिने बताए । उनीहरुले सडक सञ्जालकै कारण कृषकलाई समस्या पर्ने गरेको धेरै ठाउँबाट गुनासो आएकाले यसपटक सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
















प्रतिक्रिया