काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको बिबाद चरम उत्कर्षमा पुगेको छ । पूर्व सहमतिअनुसार लोकेन्द्रबहादुर चन्दले अध्यक्ष पद साउन १२ गतेदेखि वरिष्ठ नेता पशुपतिशमशेर राणालाई हस्तान्तरण गर्नु पर्ने हो । चन्दले पद हस्तान्तरण गर्नु त कहाँ हो कहाँ यस विषयमा कुरै गर्न चाहँदैनन् ।
चन्दको यस्तो कार्यशैली देखेपछि वरिष्ठ नेताद्धय राणा र डा.प्रकाशचन्द्र लोहनी आक्रोशित बनेका छन् । राणा र डा.लोहनीले चन्दलाई पुरानो सहमति कार्यान्वयनमा दबाब दिइरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पूर्व सहमतिअनुसार अध्यक्ष पद हस्तान्तरण नगरेपछि पार्टीभित्र बिरोध सुरू भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘लोकेन्द्रबहादुर चन्दज्यू अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिनु भएन’, ती सदस्यले भने–‘सहमति नमान्ने चन्द असार १२ गतेदेखि कामचलाउ अध्यक्ष बन्नु भएको छ ।’
तर, राप्रपाका केन्द्रीय सदस्य बसन्त अधिकारीले अध्यक्ष चन्दले साउन १२ गते अध्यक्ष पद कुनै पनि नेतालाई हस्तान्तरण गर्ने सहमति नभएको दाबी गरे ।
‘आलोपालो अर्थात चक्रीय प्रणालीबाट अध्यक्ष पद चलाउने सहमति भएको हो’, अधिकारीले भने–‘साउन १२ गते पशुपतिशमशेर राणालाई अध्यक्ष पद हस्तान्तरण गर्ने कुनै सहमति भएको छैन ।’ केन्द्रीय सदस्य अधिकारीले भने–‘६–६ महिना अध्यक्ष पद चलाउने कुरा निराधार हो । लोकेन्द्रबहादुर चन्दज्यूको अवधि सक्किएपछि पद हस्तान्तर गर्ने भनिएको हो । उहाँको अवधि कहिले सक्किन्छ त्यो पछिको कुरा हो ।’
राप्रपामा ६ महिना चन्द, ६ महिना राणा र ६ महिना डा.लोहनी अध्यक्ष बनेर डा.लोहनीको कार्यकालमा राष्ट्रिय महाधिवेशन गर्ने पूर्व सहमति भएको थियो । लोकेन्द्रबहादुर चन्दले अन्नपूर्ण होटेलमा पत्रकार सम्मेलन गरेर छ महिना अगाडि जिम्मेवारी लिँदा साउन १२ गते पद हस्तान्तरण गर्ने जनाएका थिए ।
अब अध्यक्ष पद हस्तान्तरणको विषयमा चन्द सकारात्मक नभएपछि राप्रपा फेरि फुटको संघारमा पुगेको छ । साउन ११ गते राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । सो बैठकमा अध्यक्ष चन्दविरुद्ध राणा र डा.लोहनी तथा केन्द्रीय सदस्य सुनिलबहादुर थापा कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् ।















प्रतिक्रिया