३ कार्तिक २०८३, मंगलबार

डोकाको ब्यापारबाट मासिक तीस हजार कमाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dokako bepayar masik 30 hajar (2)

– नरेश केसी

भैरहवा, ५ साउन । च्याऊ आयो है च्याऊ, ताजा राम्रो च्याउ ।। प्राय दिन विराएर भैरहवा बुटवलका घर अांगनमा महिला दिदीबहिनीहरुले विक्रीको लागी यसरी सूचना दिदै हिड्ने गर्दछन् ।

हेर्दा अधवैशे, च्याउले भरिएको डोकामा कस्सिएको नाम्लाको पातो टाउको माथीको रौं तानीरहेको हुन्छ । पसिनाले निथ्रुक्कै भएता पनि एक स्वास च्याऊ आयो है च्याऊ , ताजा राम्रो च्याउ ।। भन्दै प्रत्येक घर आंगनमा पुग्ने व्यापारी दिदीहरुको आवज सुन्ने वित्तिकै मान्छेहरु उनीहरुको समान किन्न तछाड मछाड नै गर्दछन् ।

नवलपरासी परसौनी २ टिकुलीटारकी ४४ वर्षीय निर्मला चौधरी एक दिन बिराएर भैरहवा बुटवल पुग्छीन् । उनले मौसमी र बेमौसमी सब्जी, च्याऊ, केरा को व्यापार गर्ने गर्दछिन् । उनको परिवारमा ४७ वर्षिय श्रीमान, एक छोरा बुहारी, नाती र २ छोरी छन् । श्रीमान् मनिराम चौधरी विरामी भएकोले घरमै बस्छन् भने अन्यले घरको काम गर्छन ।

निर्मला भने विगत १० वर्षदेखी डोके व्यापारमा लाग्ने गरेकी छन् । चौधरीले गाऊमा उत्पादन भएको सब्जी, च्याउ केरा खरिद गर्ने र त्यसलाई डोका भरी भरेर बुटवल भैरहवाको घरघरमा लगेर बेच्ने गरेकी छन् । डोके ब्यापारबाट उनले मासिक ३० हजार कमाइ गर्ने गरेको उनले यो सम्वाददातालाई बताइन् ।

Dokako bepayar masik 30 hajar (1)

डोकाभरी च्याऊ बोकेर भैरहवाको गल्ली गल्लीमा विक्रीकोलागी पुगेकी उनले भनिन् “मैले भैरहवा र बुटवलका गल्ली गल्लीका घर घरमा पुगेर सब्जी, केरा र च्याऊ बेच्ने गरेकी छु । जत्ति दुखः गरेकी छु त्यति फल पनि पाएकी छु । ”

डोकाको ब्यापार गरेर चोरमारा टिकुलीटारमा २ कोठे घर बनाएको जनाउने उनले भनिन् “मेरो ताकतले भ्याएसम्म यहि काम गर्छु किनकी दिनभरी व्यापार गरयो । पैसा कमायो साझं घरपरिवार संगै बस्न पाइन्छ । यसैमा खुसी छु । ”

चौधरी एक दिन विराएर सधै चोरमाराबाट भैरहवा बुटवल आउने गर्दछिन् । ३ घण्टाको बाटो १ सय ९० रुपैंया एकतर्फी भाडा तिरेर आउने उनले कहिलेकाहि समानको पैसा महंगो तिर्नुपर्दा दुखः लागेको बताईन् । चौधरीले गाऊमा २ सय रुपैयामा खरिद गर्ने र बजारमा पुराई ५० रुपैया बढीमा बेच्ने गरेको बताइन् ।

चौधरी जस्तै अन्य ८ जना महिलाहरुले यसरी मौसमी र बेमौसमी ब्यापार गर्दै आएका छन् । उनीहरुले आफ्नो छिमेकीसंग खरिद गर्ने र डोकोभरी भरेर नजिकका शहरहरुमा लगेर विक्री गर्ने गदृछन् । यी साहसी र मेहनती दीदिबहिनीको कारण घरमै बसेर उत्पादन गर्नेहरुलाई पनि रोजगारी मिलेको छ । उनीहरुले हाटबजारमा पनि विक्री वितरण गर्ने र अन्य दिन घरघरमा जाने गरेका छन् । दिनभरी गर्मि होस् वा पानी परोस् मौसमको पर्वाह नगरी बेमौसमी सब्जी विक्री वितरण गर्ने उनीहरुको मेहनत अनुकरणीय छ ।

उनीहरुको मिहनेत देख्दा खाडीमा पसिना बगाउनेहरुलाई भुलाउने प्रयास गर्दछ । फरक यत्ति हो उनीहरु विरानो देशमा पसिना बगाइरहेका छन भने यी दिदी बहिनी स्वदेशमै तर कमाइ भने उस्तै उस्तै ।