१० कार्तिक २०८३, मंगलबार

जेलमा फोन घुमाउँदै डन ‘बाहुन’

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-bahunकाठमाडौं, ५ साउन । राजधानीका कुख्यात गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले कारागारबाटै असुली धन्दा चर्काउन थालेका छन् ।

लागूऔषध, ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा कारागारमा रहेका चल्तीका गुन्डा नाइके बाहुनले जेल प्रशासनको मिलोमतोमा ठेकदारलाई थर्काउन थालेका हुन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

बाहुन मुद्दा पुर्पक्षका लागि सेन्टर जेलमा छन् । जिल्ला अदालत काठमाडौंको आदेशले जेल चलान भएका बाहुनलाई तत्काल जेल प्रशासनले गैरकानुनी तरिकाबाट गोल घरमै राखे पनि ठूलै रकमको चलखेलपश्चात् बाहिर निकालिएको थियो ।

गोलघरमुक्त भएका बाहुन कारागारका कैदीका नाइके, जेलर र प्रहरी मिलाएर दैनिकजसो फोनमा झुन्डिने गर्छन् । उक्त फोन आफन्तसँगको कुराकानीमा भन्दा पनि ठेकदार सर्कलमा पैसा असुल्न घुमाउने गरिएको छ ।

असुलेको पैसाले जेलका कैदीदेखि जेल प्रशासन र प्रहरीसम्मलाई मिलाउँदै आएका छन् । निर्माण व्यवसायी क्षेत्रका ठेकदारले समेत ठेक्का कब्जा गर्न जेलबाटै बाहुनको प्रयोग गर्दै आएको स्रोत बताउँछ ।

दोलखा घर भई भक्तपुरबाट ठेक्कापट्टा सुरु गरेका विदुर शर्माको समूहले बाहुनलाई जेलबाटै परिचालन गर्दै आएको छ । ठेक्का मिलेको खण्डमा भागबन्डा बाहुनलाई पनि पु-याउने गरिएको छ ।

अर्का गुमनाम गुन्डा नाइके सुक्रेको समूहलाई समेत ठेकदार विदुरले परिचालन गर्न थालेका छन् ।

एमालेबाट पर्यटनमन्त्री बनेका दोलखाका आन्नद पोखरेलको समेत धाकधम्की दिँदै गौतमले अन्य निर्माण व्यवसायीलाई थर्काउने गरेको महासंघमा चर्चा चलेको छ ।

कुनै ठेकदारले काम लिएको खण्डमा सो ठेकदारको सूचना बाहुनलाई दिएर कथित ठेकदार विदुरले अन्य ठेकदारको ‘जिना हराम’ गराउने गरेको स्रोतको दाबी छ ।

बाहुनलाई कमिसन लिन लगाएर उक्त कमिसनबाट विदुरले समेत भागबन्डा लिने गरेको चर्चा अहिले महासंघमा चलेको छ ।

ललितपुरका मीनकृष्ण महर्जनलाई गोली प्रहार गरेपछि फरार रहेका डन बाहुन डेढ वर्षअगाडि भारतको लखनउबाट पक्राउ परेका थिए । तर, तत्कालीन काठमाडौं परिसर प्रमुख एसएसपी रमेश खरेलले कलंकीमा पैदल हिँडिरहेको अवस्थामा पक्राउ गर्दा साथबाट २७ ग्राम खैरो हिरोइन लागूऔषध बरामत भएको मुचुल्का बनाउँदै मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाका कारण बाहुन हाल पुर्पक्षका लागि कारागारमा छन् । बाहुनमाथि लगाइको सो अभियोग पुष्टि भएमा १५ वर्षसम्म कैद हुन्छन् । प्रहरीले बाहुन डनलाई भारतको लखनउबाट पक्राउ गरे पनि औपचारिक रूपमा भने कलंकीबाट पक्राउ गरेको मुचुल्का तयार पारी मुद्दा दायर गरेको थियो ।

चार वर्षअघि रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रममा केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका बाहुन ओली नेतृत्वको सरकार रहँदै मुद्दा मिलाएर छुट्ने आशमा छन् ।