
– नरेश केसी
भैरहवा, ३ साउन । राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारिक मार्ग अहिले अलपत्र परेको छ ।
ठेकेदारको लापरबाहीको कारण अहिले लुम्बिनीको प्रवेशद्वार भैरहवाको केन्द्र ब्रमेलीटोल क्षेत्रमा आवतजावतमा ठूलो समस्या परेको छ । सवारीसाधनको अत्यन्तै चाप हुने उक्त क्षेत्रमा ठेकेदारी कम्पनीले जथाभावी खनेका खाल्डाखुल्डी र त्यहां जमेको पानीको कारण वर्षातको बेला आजभोली पैदलयात्रुहरु सो बाट हिड्दा सास्ती खेप्नुपरिरहेकोछ । पैदल यात्रु मात्रै होइन रिक्सा चालक, साइकल चालक र मोटर साइकल चालकले पनि त्यस्तै सास्ती खेप्नु परेको देखिन्छ । ठूलो ठूला दसचक्के गाडीहरु समेत हिड्ने सो सडक खण्डका खाल्डामा जमेको पानी सवारी साधनको तिब्र गतिमा थिचीदा छेऊछाऊका घरहरु पनि हिलाम्यै बनेका छन् ।

बेलहिया बुटवल व्यापारीक मार्ग अन्तरगतको उक्त सडक निर्माणको ठेक्का कालिका तामांग प्यासेफीकले लिएको थियो । २०७२ असार १ (१६ जुन २०१४) मा कालिकाले २०७३ असार ३१ (१५ जुलाई २०१६) भित्र निर्माण सम्पन्न गर्नेगरी ४५ करोड ६४ लाख १ हजार ४ सय ८६ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । उक्त लागतमा ठेकेदार कम्पनीले डण्डामा ४० मिटर लम्बाइ र १० मिटर चौडाइको पक्की पुल, डण्डा पुलदेखी सीता नर्सरी सम्म ७ सय मिटर बाटो र ब्रमेलीटोलदेखी अन्चलपुर सम्म १४ सय मिटर बाटो निर्माण गर्नेगरी सम्झौता गरेको थियो ।
ठेक्का कालिका तामांग प्यासेफीकले लिएको भएता पनि तामांग कन्सट्रक्सनले काम गरिरहको थियो तर अहिले उक्त ठेकेदार कम्पनि पनि गैर जिम्मेवार ढंगले प्रस्तुत भएको छ । शुरुमा ठेक्का लिई पेश्की रकम लिन तछाडमछाड गर्ने ठेकेदार कम्पनीले अहिले सडक निर्माणको काम यत्तिकै अलपत्र पारेको छ । राष्ट्रिय गौरबको यो आयोजना अधुरो मात्रै नभएर अलपत्र अवस्थामा परेका छन् । काम गर्न नखोज्ने तर सोर्स फोर्स लगाएर समयावधि थप्ने ठेकेदारहरुको मनोवृति तामांगमा पनि देखिएको छ ।
यहि २०७३ असार ३१ गते भित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने उक्त सडक अहिले सम्म २८ प्रतिशत मात्रै काम भएको छ । काम नगर्ने तर समयावधि भनि थपीरहनेलाई कसरी काम लगाउनु हुन्छ त भनी यो सम्वाददाताले बेलहिया बुटवल व्यापारी मार्ग आयोजनाका सूचना प्रमुख ई. भिर्माजुन कडेललाई सोध्दा उनको जवाफ यस्तो आयो “हर्नुस काम असार भित्रै सकिनुपर्ने हो तर यस्तै छ यहां हामीले भनेर पनि हुदैंन । ठेकेदारले समय थपको माग गरेका थिए त्यो विभागबाट स्वीकृत भइसकेको छ ।”
ठेकेदार कम्पनीले अब एक वर्षको थप समय पाएका छन् । उनले यसरी समय थप्दै जाने हो भने यो सडक पुरा हुन अझै ५ वर्ष लाग्छ । राष्ट्रिय गौरबको यो आयोजना समयमा पुरा नहुदां यस क्षेत्रमै बनिरहेको अन्तराष्ट्रिय विमान स्थल, लुम्बिनी विश्व शान्ति शहर, बुटवल भैरहवा जोडेर बन्ने महानगरपालिका जस्ता सरकारका अन्य आयोजना समेत प्रभावित हुने देखिन्छ ।
बेलहिया बुटवल व्यापारी मार्ग २७ किलोमिटरको रहने र सो क्षेत्रमा पुल, ओभरहेड ब्रिज देखी दायाबाया सडक, सेन्टर सडक, विचमा ३ मिटर ग्रीनरी, नाला, फुटपाथ सहित अन्तराष्ट्रिय स्तरको बनाउने योजनामा छ । यसको शुरुवातको लागत ४ अरब १६ करोड अनुमान गरिएता पनि पछि गोलपार्क सम्म सडक र ओभरहेड ब्रीज थपीएपछि अहिले ६ अरब पुगेको छ ।
उक्त सडक बनाउन शुरुमा साना शहरी एकिकृत वातवरणीय सुधार आयोजना अन्तरगत एशियाली विकास र्बैंकले चासो देखाई २ अर्ब ४२ करोड दिने इच्छा जाहेर गरेता पनि पछि डा. बाबुराम भट्टराईको पहलमा सो सडक नेपाल सरकारले नै बनाउने गरी काम अगाडी बढाइएको हो ।


















प्रतिक्रिया