न्यूयोर्क, ३ साउन । महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन् । अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’ । सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो । तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो । तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन गरिन् र लक्ष्य पूरा भएको घोषणासहित अर्थ संकलन बन्द गरिन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तर, के गरिन् त उनले त्यो रकम ? कहाँ गयो सहयोग ? सोही पेजमा उनले लेखेकी छन्, ‘मेरो अभिभावकबाट रसुवाको भूकम्पपीडित क्षेत्रमा राहत बाँडिएको छ, ।’ चन्दा दाताहरूलाई चिन्ता नगर्न अनुरोध गर्दै उनले हालैमात्र ४७ परिवारलाई प्रतिपरिवार दुई सय डलरको हिसाबले रकम बाँडिएको बताएकी छन् । रसुवाको कुन क्षेत्रमा राहत बाँडिएको भन्ने विस्तृत उल्लेख छैन । तामाङसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क भएन ।
पेन्सिलभेनियाकी मेरी इलेन फान्सेस्कानी अर्की पात्र हुन् जसले नेपालका भूकम्पपीडितका नाममा झन्डै ४२ लाख रुपैयाँ संकलन गरेकी छन् । लक्ष्य त उनको १ करोड रुपैयाँ संकलन गर्ने हो । त्यहाँ उल्लेख भएअनुसार ‘स्काई चेजर च्यारिटिबेल फाउन्डेसन’ का तर्फबाट रकम रसुवाको लामटाङ क्षेत्रमा खर्च गरिएको र अझै धेरै खर्चिने खाका छ ।
नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक अन्जली श्रीवास्तवाले फिलाडेल्फियाबाट नेपालका लागि औषधि शीर्षकमा रकम उठाएकी छन् । न्युयोर्कमा कानुन व्यवसाय गरिरहेका नेपाली मूलका केशव सेढार्इं पनि करिब ५९ लाख रुपैयाँँ राहत संकलक हुन् । गत वर्ष नै पीडितलाई टेन्ट र स्कुलका सामान वितरण गरिएको र नेपालमा रहेका आफ्ना भाइले अभियान सञ्चालन गरिरहेको सेढाईंको दाबी छ । न्युयोर्कका ग्याल्जेन नोर्बु शेर्पाले ४० लाख, न्यु हयाम्सायरको हडसनमा बस्ने तेजस्वीसिंह राणाले झन्डै ३० लाख रुपैयाँ भूकम्पपीडितका नाममा संकलन गरेका छन् ।
अमेरिकामा यसरी रकम संकलन गर्नेको सूची १ हजार ८ सयको हाराहारी छ । झन्डै ९० हजार दाता छन् । क्यालिफोर्नियास्थित ‘गो फन्ड मी’ मा यी व्यक्तिहरूले पीडितका नाममा करिब ८० करोड रुपैयाँ संकलन गरेका छन् । व्यक्तिगत रूपमा अर्थ संकलनका लागि प्रभावकारी यो प्लेटफार्ममा आफ्नो फेसबुक खातामार्फत अभियान सञ्चालन गरेर रकम संकलन गर्न सकिन्छ । उठेको रकमको पाँच प्रतिशत शुल्क लिएपछि बाँकी रकम अभियानकर्ताले पाउँछ ।
यो अभियान यति प्रभावकारी भयो कि ‘गो फन्ड मी’ ले ‘नेपालको भूकम्पपीडित राहत’ लाई आफ्नो पाँच मुख्य अभियानमध्येको चौथो नम्बरमा सूचीकृत गरेको छ । रकम उठाउनेहरूमा धेरै अमेरिकी नै छन् भने कम्प्युटर प्रविधिमा दख्खल राख्ने अमेरिका बस्ने नेपालीको पनि उल्लेख्य संख्या छ । केही अभियानहरू अर्थ संकलन गरेर बन्द गरिएका छन् भने धेरै अभियान अझै जारी छन् ।
तर के त्यसरी उठेको ८० करोड रुपैयाँ नेपाल भित्रियो रु भूकम्प पीडितहरूलाई राहत मिल्यो त रु यो जिज्ञासामा प्लेटफार्मको मिडिया विभागले इमेल प्रतिउत्तरमा भनेको छ, ‘रकम सदुपयोगिता हाम्रो इच्छा भए पनि यसको प्रत्यक्ष अनुगमन हाम्रो कार्यक्षेत्रमा पर्दैन । तैपनि वर्षको अन्त्यमा हामीले खर्चको लेखा विवरण माग्छौं ।’















प्रतिक्रिया