१० कार्तिक २०८३, मंगलबार

सरकार छाडेकोमा नारायणकाजी समूहले पार्टीभित्र यसरी मच्चायो बबण्डर, प्रचण्ड अप्ठेरोमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । माओवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलाई लिएर असन्तुष्टि देखिएको छ ।

आइतबार लाजिम्पाटमा बसेको हेडक्र्वाटर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शीता नभएको भन्दै असन्तुष्टि राखेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

श्रेष्ठ पक्षले बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय राजनीतिक दृष्टिकोणले सही भए पनि पद्दतिमा त्रुटि भएको भन्दै आत्मालोचना गरेको दाबी गरेको छ । तर, दाहाल पक्षले बैठकमा आत्मालोचनाको कुनै प्रसंगै नआएको भन्दै प्रतिवाद गरेको छ ।

‘सरकारबाट फिर्ता हुने निर्णयमा जुन शैली अपनाइयो, त्यसले पार्टीको प्रतिष्ठामा क्षति पुग्न गएको छ’, श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘जुनसुकै बाटो र प्रक्रियाबाट भए पनि निर्णय भइसकेको अवस्थामा अब क्षतिलाई जतिसक्दो घटाउनु बुद्धिमानी हुन्छ । अध्यक्षले यसबारे सोच्नुपर्‍यो ।’

श्रेष्ठभन्दा अघि बोल्दै नेता रामबहादुर थापाले केपी ओली सरकारबाट परिवर्तनका एजेन्डा उल्टाउने कदमलाई बल पुगिरहेका कारण सरकारबाट माओवादी फर्कनु राजनीतिक दृष्टिले उचित कदम भएको बताएका थिए । बैठक स्रोतका अनुसार उनले पार्टी पंक्तिभित्र यसबारे छलफल भएकै भए पनि निर्णय गर्दा केही हतारो देखिन गएकाले सच्च्याउनुपर्ने बताएका थिए ।

दुई नेतापछि बोलेका अध्यक्ष दाहालले राजनीतिक निर्णय उचित भए पनि शैलीमा मतभेद भयो भन्ने कुरा स्वीकारेको बैठक स्रोतले बतायो । ‘अविश्वासको प्रस्ताव संसदमा दर्ता भइसकेको अवस्थामा अब यसैलाई अघि बढाउने हो, पछि फर्कने कुरा छैन,’ दाहालले बैठकमा भने, ‘यसमा मतभेदहरुको बीच पनि एकताको स्पिरिट देखिइनुपर्छ ।’

प्रवक्ता पम्फा भूसालले बैठकमा विकसित पछिल्ला घटनाक्रमबारे खुलेर बहस भएको बताइन् । ‘बहसमा अलिअलि मतभेद त हुने भइहाल्यो, तर कुनै असन्तुष्टि छैन,’ भूसालले भनिन्, ‘केही बहसहरु भए पनि हेडक्वार्टरको बैठकबाटै पार्टी सरकारबाट फिर्ता हुने र बाँकी पहल गर्ने जिम्मा अध्यक्षलाई पहिल्यै दिइसकेका कारण त्यस्तो समस्या भएको भन्ने सत्य होइन ।’ उनले एमालेको सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा सुरुमा केही बहस भएको स्वीकारिन् ।

माओवादी नेता वर्षमान पुनले बैठकमा सामान्य बहस भए पनि नेतृत्वमा दूरी नरहेको प्रष्टीकरण दिए । ‘पछिल्ला केही निर्णयबारे पार्टीभित्र जानकारी भएन भन्ने केही साथीहरुले कुरा राख्नुभयो,’ पुनले भने, ‘अध्यक्षले सबै विषयहरु बैठकमा राखिसकेपछि अब जिज्ञासा र फरक बुझाई सुल्झिएका छन् ।’

यसअघि अघिल्लो साता माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै नेता श्रेष्ठले कान्तिपुरसग कुरा गर्दै समर्थन फिर्ता लिने र अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने बारे आफूलाई औपचारिक जानकारी नभएको बताएका थिए । ‘यो खबर मैले मिडियाबाट थाहा पाएको हुँ, त्यसपछि पार्टी अध्यक्षले फोन गर्नुभयो,’ श्रेष्ठले भनेका थिए, ‘मेरा केही कुराहरु छन्, तर पार्टीभित्रै राख्छु ।’ श्रेष्ठ एमाले९माओवादी सहकार्य कायम राख्ने पक्षधर हुन् । माओवादीका अन्य नेता भने ओली माओवादीकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि सहकार्यको भावनाअनुसार नचलेको आक्रोश पोख्दै आएका छन् ।

बैठक सोमबार फेरि बस्दैछ । प्रवक्ता भूसालले केन्द्रीय कार्यालयमा रिक्त १०, सचिवालयमा रिक्त १८ र पोलिटब्युरोमा रिक्त ७७ सदस्य सोमबारको बैठकले थप गर्ने जानकारी दिइन् । त्यसो गर्दा माओवादी हेडक्वार्टर सदस्य ३३, सचिवालय ९९ र पोलिटब्युरो २ सय ९९ सदस्य हुन जानेछन् । माओवादी केन्द्रीय समिति सदस्य १५ सय सदस्यीय छ ।

दाहाल-नेम्वाङ भेट
बैठकअघि दाहाल र एमाले संसदीय दल उपनेता सुवास नेम्वाङबीच दुई दलबीच पछिल्लो समय बढेको द्वन्द्व घटाउनेबारे छलफल भएको थियो । दाहाल भेट्न लाजिम्पाट पुगेका नेम्वाङले आपसी आरोप प्रत्यारोपले कसैलाई फाइदा नहुने भन्दै अविश्वास घटाउन आग्रह गरेका थिए । लाजिम्पाट स्रोतका अनुसार दाहालले प्रधानमन्त्री केपी ओलीबाट संवैधानिक व्यवस्थाविरोधी अभिव्यक्ति आइरहेको भन्दै ‘सम्झाउन’ नेम्वाङलाई आग्रह गरे । नेम्वाङले भने राजनीतिक निर्णयहरु संसदबाटै हुने हुदा बाहिरका विवादको कुनै अर्थ नहुने बताएको उनीनिकट स्रोतले बताएको छ ।

‘सडकमा के को तमासा ?’
माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनको साझेदारले समर्थन फिर्ता लिइसक्दा पनि प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र नैतिकता देखाउनुको साटो सडकमा कार्यकर्ता उतारेको आरोप लगाए । उनले ओली संवैधानिक मान्यता कुल्चने दिशामा अघि बढेको दाबी गरे । ‘प्रधानमन्त्रीको विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव पेश भइसकेकाले सडकमा युवाहरु उतारेर तमाशा देखाउनु हास्यास्पद हो,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा पुनले भने, ‘सक्नुहुन्छ भने नैतिकताको आधारमा राजीनामा दिनुहोस्, नसके संसद फेस गर्नुहोस, सडकमा प्लेकार्ड बोकेर तमाशा नदेखाउनुहोस् ।’ सडकबाट आन्दोलन गर्दैमा प्रधानमन्त्री थामिदैन भन्ने एमालेलाई राम्रो हेक्का भएको भन्दै उनले व्यंग्य गरे ।

पुनले एमालेको राष्ट्रवादमा नेपालकै मधेशी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरु नअटाएको आरोप लगाए । ‘आजको भूमण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौं, कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन,’ पुनले ओलीलाई लक्षित गर्दै भने, ‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्‍घोष गर्ने हामी नै हौं, हस्तक्षेप भयो भन्दै सरकारबाट राजिनामा दिनेपनि हामी नै हौं, त्यसैले हामीलाई कसैले राष्ट्रवादको पाठ नपढाए हुन्छ ।’

एमालेले आफ्नो पार्टीसँग गरेका सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै पुनले माओवादीले ओलीलाई प्रधानमन्त्री बनाउन मात्रै भोट नमागेको बताए । उनले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रर्दशन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गरेको दाबी गरे ।