
काठमाडौँ, २ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकलौटी रुपमा पार्टी नचलाउन काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
आफ्नो गुटका नेताहरुलाई लिएर आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले केन्द्रीय समितिको छलफल विना पार्टीका महत्वपूर्ण निर्णय नलिन देउवाको ध्यानाकर्षण गराएका हुन् । पौडेलको साथमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महत लगायतका नेता थिए ।
भेटमा आफूहरुको जानकारी विना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको, माओवादीसँग ७ बुँदे सम्झौता गरेको लगायतका विषय थिए । यसैगरी, संसदमा दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्ताव लगायतका विषयमा पनि छलफल भएको भेटमा सहभागी नेता डा. महतले जानकारी दिए । पौडेल समूह बरु एमालेको पनि समर्थनमा काँग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने पक्षमा छ ।
नेता पौडेलले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन र छलफलमै विभाग गठन गर्न पनि देउवालाई सुझाएका थिए ।












प्रतिक्रिया