२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीले किन गरे ‘बलजफ्ती’ र ‘तनाव’का कुरा ? चुप लागेर नबस्ने संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौँ, २ साउन । सरकारको मुख्य साझेदार माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनका विषयमा अनेक बहस र छलफल भइरहेका छन् ।

काँग्रेस र माओवादीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सरकार अल्पमतमा परेको र अविश्वासको प्रस्ताव समेत फिर्ता भइसकेको भन्दै काँग्रेस र माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन् ।

संक्रमणकालिन सरकार भएका कारण तत्काल नयाँ सरकार गठन गर्न मिल्ने या नमिल्ने भन्नेमा संवैधानिक कानुनका ज्ञाताहरुसमेत विभाजित भएका छन् । केही कानुनविद्हरु अर्को निर्वाचन नभएसम्म यही सरकारले निरन्तरता पाउने बताइहेका छन् भने कतिपयले नयाँ सरकार गठनका लागि यही संविधानमा विकल्प रहेको तर्क गरिरहेका छन् ।

शनिबार नेपाल टेलिभिजनको नियमित कार्यक्रम सिधाकुरा प्रधानमन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफू ‘तनाव’ र ‘बलजफ्ती’को पक्षमा नरहेको बताउनुभयो । सभामुखको भूमिकालाई लिएर प्रश्न उठिरहेकोप्रति इंगित गर्दै प्रधानमन्त्रीले पदीय हैसियतको मर्यादा राख्न सुझाव दिनुभयो । ‘पदीय मर्यादा नमान्नु गम्भीर विषय हो ।’– उहाँले भन्नुभयो ।

‘देश र जनतासँग सम्बन्ध नभएका खुद्रा कुराहरु र दलीय स्वार्थका चक्रव्यूहमा मेरो त्यति धेरै ध्यान पनि छैन् ।’, प्रधानमन्त्रीले भन्नुभयो– ‘ के गर्ने भन्नु कुरा संविधानले निर्धारण गर्ने हो । देशमा संविधान बनेको छ, संविधानले निर्धारण गर्छ । संवैधानिक जटिलता छन् भने समाधान गरौँ ।’

आफू बलजफ्तीको बाटोमा जान नचाहेको उहाँले बताउनुभयो । बरु संवैधानिक जटिलताहरु समाधान गर्न जरुरत भए त्यसका लागि तयार रहेको बताउनुभयो । ‘मैले लेखेको होइन् नि यो संविधान, संविधानमा जे व्यवस्था छ त्यो पालना गर्नुप¥यो । यो संविधानमा केही छुटेका भए संविधान संशोधनको बाटोमा जानुपर्छ, बलजफ्तीको बाटोबाट होइन होला नि ? प्रधानमन्त्रीको प्रतिप्रश्न थियो– ‘मैले दुईवटा पार्टी (काँग्रेस र माओवादी)को निर्देशन मान्नुपर्ने कि संविधानले गरेको व्यवस्थाको मैले पालना गर्नुपर्ने ?’

आफूमाथि अनेक लान्छना लगाइरहेकोप्रति प्रधानमन्त्रीको तर्क छ– ‘म बहस, विवादमा जान चाहन्न । त्यसैले मैले केही भनिरहेको छैन् तर उहाँहरु लाञ्छना लगाउन उद्दत भरहनुभएको छ । मैले जबाफ दिने स्थिति पनि बन्न सक्छ। तर, जबाफ किन दिइरहेको छैन भने मैले देशलाई तनावतिर यो देशलाई लैजान चाहेको छैन ।’

देशका जनताको हितलाई सर्वोपरि राखेर संवैधानिक ढंगले अघि बढ्न अपिल गर्दै उहाँले आवेग र उत्तेजनाले मुुलुक अघि नबढ्ने बताउनुभयो । संविधानको रक्षाका लागि आफू खरो रुपमा उत्रने उहाँको भनाइ थियो ।

‘बहुदलीय व्यवस्था, संसदीय प्रणाली, संसद, व्यवस्थापिका, संविधान ल्याउन मैले पनि अग्रभागमा रहेर भूमिका खेलेको छु, त्यसकारण तिनको रक्षाका लागि फेरि म उभिन्छु भन्ने कुरा पनि अरु साथीहरुले पनि बुझ्दा राम्रो होला । म चाहन्छु, राजनीतिलाई अस्थिरतातर्फ, तनावतर्फ धकेलिनुहुन्न ।’ उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीको थप सुझाव छ– ‘मैले लगातार भन्ने गरेको छु, सहमतिको सरकार हुँदैन भने पनि मर्यादित ढंगले पक्ष तथा प्रतिपक्ष हुन सकिन्छ ।’

सरकार कामचलाउ भइसक्यो भन्दै काँग्रेस र माओवादीले तर्क गरिरहेकोमा उहाँले भन्नुभयो– ‘कसैले समर्थन फिर्ता लिँदैमा दुनियाँको कुनै परिभाषामा सरकार कामचलाउ हुन्छ ? संवैधानिक भाषाको अर्थ पनि थाहा छैन् ? कानुनी भाषाको अर्थ पनि थाहा छैन ? पदमुक्त भएपछि अर्को सरकार नभएसम्म त्यस अबस्थामा सरकार कामचलाउ हुने हो । एउटाले समर्थन फिर्ता लियो भनेपछि कसरी कामचलाउ हुन्छ ?’

शब्दको दुरुपयोग र जनतामा भ्रम सिर्जना गर्ने ढंगले नजान उहाँको आग्रह छ । बलफ्ती गरे आफू पनि चुप लागेर नबस्ने संकेत गर्नुभएको छ।