काठमाडौं, १ साउन । पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर राजधानी बाहिर नजान ह्विप जारी गरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन् ।
कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढी पहिरो प्रभावित जनताको समस्या लगायत महत्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तर त्यसको उल्लघंन गर्दै ती सांसदहरु कुनै महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन् ।
सांसदहरु पार्टीसँग परामर्श नगरी ह्विप उल्लघंन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को ह्विप जारी गरेका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गरेकै भोलिपल्ट तीन सांसद धनराज गुरुङ, सीता गुरुङ र राजु थापा हङकङ र मकाउ भ्रमणमा निस्किएका छन् ।
उनीहरु नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापाको निमन्त्रणामा त्यहाँ पुगेका हुन् । थापा मानव बेचबिखनको आरोपमा नेपाल सरकारले खोजी गरेर मस्ट वान्टेड सूचीमा राखेका व्यक्ति हुन् ।
यसैगरी सांसद रामचन्द्र पोखरेलको नेतृत्वमा १० जना १० दिने भ्रमणमा चीन् गएका छन् ।
पौडेलसँग सांसदहरु सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा,दिवानसिंह विष्ट, शारदा पौडेल र विष्णुमाया परियार चीन भ्रमणमा छन् । उनीहरु साउन ६ गते बेलुका नेपाल फर्कन कार्यक्रम छ ।















प्रतिक्रिया