काठमाडौं, ३० असार । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लगाइएको अविश्वासको प्रस्तावको सामना गर्ने भएको छ ।
विहीबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अविश्वासको प्रस्तावविरुद्ध सामना गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई चारैतर्फबाट राजीनामा दिन दबाब आइरहेका बेला एमालेले भने सरकारको पक्षमा अन्तिमसम्म लड्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहजतापूर्वक परिस्थितिलाई सामना गर्न तयार रहन सांसदलाई निर्देशनसमेत दिएको सचेतक ढकालले बताए ।
‘प्रधानमन्त्रीले सांसदलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संसद्मा दर्ता गराएको अविश्वासको प्रस्तावको सामना गर्न तयार रहन निर्देशन दिनुभयो’– उनले भने । बैठकमा प्रधानमन्त्रीले एमाले सत्तामा कसैको भर्याङ चढेर नआएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएको उनले जानकारी दिए ।
प्रमुख सचेतक ढकालका अनुसार प्रधानमन्त्रीले कसैको दयामायाले एमाले सत्तामा नपुगेको बताउँदै राष्ट्रवादको अडान र भारतीय नाकाबन्दीको पनि यसअघि सामना गरेकाले अहिलेको परिस्थितिको सामना गर्न तयार रहेको धारणा राखे ।
प्रमुख सत्ता साझेदार पार्टी माओवादी केन्द्रले सत्ता गठबन्धन छोडेपछि एमालेले संसदीय दलको बैठक बोलाएको थियो ।













प्रतिक्रिया