२ कार्तिक २०८३, सोमबार

वारपार गर्ने पुल छैन, दिनहुँ जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rukum-kholaरुकुम, ३० असार । जब वर्खायाम शुरु हुन्छ, बर्खे भेल र पानीको उर्लदो बहाबसंगै खोला बढेर वारपार गर्नलाई बनाईएका सामान्य काठेपुल समेत खोलाले बगाईदिन्छ, तब मात्र घेत्मा बासीका दुःखका दिनहरु शुरु हुन्छन् ।

रुकुम जिल्लाको पश्चिम क्षेत्रमा रहेको घेत्मा गाविसको घेत्मा खोलाले वर्खायामको समयमा उत्पन्न गराउँदा त्यस क्षेत्रकोे यो एक कठिनपुर्ण विबशता हो । नौ वटा वडा रहेको घेत्मा गाविसका वडा नं. ४, ५, ६ र ७ मा बसोबास गर्ने स्थानियहरुले बर्खाको समयमा घेत्मा खोलामा पुल नहुँदा जोखिम मोलेर दिनहुँ खोला वारपार गर्नुपर्ने बाध्यता वषौंदेखि रहंदै आएको छ । बर्खाको समयमा विशेष गरेर माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययन गर्न जाने विद्यार्थीहरुले त झन् उक्त घेत्मा खोला तर्नैपर्ने बाध्यता छंदै छ । बर्खा शुरु भए लगत्तै आषाढ महिना देखि भाद्र महिना सम्म ती चारै वडाका विद्यार्थीहरु बिद्यालय जानबाट बञ्चित रहनुपर्ने अवस्था कायमै रहेको छ ।

घेत्मा खोलाको करिब चार ठाउँमा पुल नहुंदा आफ्ना छोराछोरीहरु करिब ३ महिना सम्म घरमै बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीका एक अभिभावक घेत्मा ७, भल्म रुकुमका प्रेम प्रकाश पुनले बताए । साथै उक्त समस्या चार वटै वडाका सबै अध्ययनरत विद्यार्थीहरुका लागि ठूलो समस्याको रुपमा देखिएकोले घेत्मा खोलामा तत्काल पक्की पुल निर्माण हुनुपर्ने अर्का स्थानिय बासी घेत्मा ५ रुकुमका राजेन्द्र मल्लले बताए । उसो त घेत्मा खोलाको वडा नंं. ४ को हम्पा, वडा नंं. ५ र ६ को बाँद्रे खोला र वडा नंं. ७ को पाने सुक्ने र जाजरकोट छेपारे राडीज्यूला हुँदै डोल्पा सडक खण्ड अन्र्तगत पर्ने घेत्मा खोलाको बाँके ज्यूलामा वारपार गर्नलाई अहिले सामान्य काठेपुल समेत छैनन् ।

विभिन्न ठाउँमा सरकारी तथा गैर सरकारी संघ संस्था बाट यस अघि निर्माण गरिएका काठे पुलहरु पनि गएको आषाढ १६ गतेको बाढिले बगाईदियो । हाल घेत्मा खोलामा खोला वारपारका लागि पुल नहुंदा स्थाननिय बासिन्दा, आम सर्वसाधारण तथा सवारी साधन लगायत अन्य पैदल यात्रीलाई समेत निकै अप्ठेरो पर्ने गरेको छ । काठे पुल खोलाले बगाएपछि पछिल्लो समय घेत्मा खोला बढेर आउँदा स्थानियले लामाखाले काठ र दार खोलामा राखेर यी दुवैको सहारा लिएर खोला तर्ने गरेका छन् ।

घेत्मा बासीहरुका लागि दैनिक उपभोग्य समान खरिदका लागि स्थानिय बजार जाजरकोट जिल्लाको रिम्ना बजार हो । तर रिम्ना बजार जानको लागि त्यो डरलाग्दो आँखाको नजर नै घुमाउने घेत्मा खोला भने स्थानिय बासिन्दाले तर्नैपर्छ । दिनहुँजसो रिम्ना बजार जानुुपर्ने बाध्यता भएकोले त्यहाँका स्थानियहरु आफ्नो ज्यानको जोखिम मोलेर पनि डरलाग्दो घेत्मा खोला तर्न बाध्य भएका छन् । खोला वारपारका लागि पुलको वयवस्था नहुँदा बर्खाको समयमा समान खरिद लगायत बिद्यार्थी र बिरामीहरुका लागि जटिल समस्या उत्पन्न हुने गरेको छ । गएको आषाढ १६ गते घेत्मा खोलाको बहाब ठुलो हँदा आएको बाढीले जाजरकोट छेपारे राडीज्यूला सडक खण्ड प्रभावित भएको थियो । प्रभावित सडक खण्डमा १६ गतेको दिनभर कुनैपनि सवारी साधन चल्न सकेका थिएनन् भने सर्व साधारणले खोला वारपारका लागि स्थानियको सहयोगमा प्रतिव्यक्ति रु. २५ रुपैंया तिरेर घेत्मा खोला तर्नु परेको थियो । गएको १६ गतेको बाढीले घेत्मा खोलाका विभिन्न स्थानमा भएका कच्ची काठे पुल पनि बगाईदिंदा आजभोली घेत्मा बासीको ज्यान जोखिममा पर्ने गरेको छ ।

पुल अभावकै कारण आषाढ २८ गते मंगलबार बेलुकीपख जाजरकोट छेपारे राडीज्यूला सडक खण्ड अन्र्तगत पर्ने घेत्मा खोलाको बाँके ज्यूलामा घेत्मा खोला तर्ने क्रममा एक जना बृद्धको मृत्यु भएको थियो । स्थानिय बजार बाँके ज्यूलाबाट बेलुकी पाँच बजेतिर घर फर्कदै गर्दा घेत्मा ७, भल्म ज्यूलाका ७३ वर्षिय बृद्ध शशिधर थापाको मृत्यु भएको हो । मृतक थापाको शव करिब तीन सय मिटर तल खोला किनारमा भेटिएको थियो ।

बर्षा हुने समय अझ धेरै बाँकि छ, तरपनि आषाढ महिनामै आएको बाढीले घेत्मा खोलामा भएका काठेपुल समेत बाढीले बगाउँदा घेत्माबासी यो साल झनै त्रासमा छन् । दिनहुँजसो जोखिम मोलेर खोला वारपार गर्दाको पिडा खपिनसक्नु भएका रुकुम घेत्माबासीका लागि तत्काल पक्की पुल हुन नसकेपनि खोला वारपार गर्नलाई भने सामान्य पुलको आवश्यक्ता रहेको छ । बेलैमा स्थानिय घेत्मा बासीको सकसपूर्ण दैनिकीलाई सहज गराईदिनका लागि विभिन्न गैर सरकारी संघ संस्था तथा सरकारको ध्यान आम घेत्माली नागरिक तथा घेत्मा खोलामा केन्द्रित हुन आवश्यक छ ।

– अमरराज पुनबाट