काठमाडौं, ३० असार । माओवादी केन्द्र र नेपाली कांग्रेसले आफूविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएपछि राजनीतिक र कानुनी परामर्शमा सक्रिय भएका प्रधानमन्त्री केपी ओलीले आफू निकटका नेताहरूसँग परामर्श गरेका छन् ।
ओलीले एमालेका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतसँग आफ्नो राजीनामाका विषयमा परामर्श गरेको बुझिएको छ ।
उनीहरूले ओलीलाई तत्काल राजीनामा दिन नहुने र अविश्वासको प्रस्तावको संसदमा सामना गरेर जानुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ । ‘संसदमा माओवादी केन्द्रको असल चरित्र देखाउनु पर्छ’, स्रोतले भन्यो, ‘सरासर राजीनामा दिएर सजिलै सत्ता हस्तान्तरण गर्नु हुँदैन ।’
अविश्वासको प्रस्ताव टुङ्गो लाग्न एक साता लाग्नेछ । त्यसपछि राष्ट्रिपतिले सहमतीय सरकारका लागि समय दिनुपर्नेछ ।
तोकिएको समयभित्र सहमतीय सरकार बन्न नसके बहुमतीय सरकार बनाउनका लागि पुनः आह्वान गर्नुपर्ने हुन्छ । यो प्रक्रियामा जाने कम्तिमा २१ दिन लाग्न सक्ने संसद सचिवालय स्रोतको भनाइ छ ।
यदि दलहरूको वीच सहमति भए अविश्वासको प्रस्ताव पास हुनेवित्तिकै नियमावली निलम्बन गरेर बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचनमा गए छिटो हुनेछ अन्यथा मुलुकले नयाँ प्रधानमन्त्री पाउन कम्तिमा एक महिना लाग्न सक्छ ।
उता, बुधबार राति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका प्रधानमन्त्री ओलीले आफूविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा परामर्श गरेका थिए ।












प्रतिक्रिया