१० कार्तिक २०८३, मंगलबार

तीन सय कन्सलटेन्सीहरूको फाइल अख्तियारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ecanकाठमाडौं, ३० असार । विद्यार्थीलाई शैक्षिक परामर्श दिंदै आएका अधिकांश कन्सलटेन्सीहरु कानुन विपरित सञ्चालित रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

पछिल्लो समय नाम चलेकै र भरपर्दा भनिएका कन्सलटेन्सीहरुले विद्यार्थीहरुलाई ठगी गरेको खुलेपछि अख्तियार र प्रहरीको सक्रियतामा कन्सलटेन्सीहरुमाथि फेरि छानविन हुन लागेको बताइएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अख्तियारले पहिलो चरणमा शिक्षा मन्त्रालयमा सूचीकृत भएका कन्सलटेन्सीहरुको फाइल मगाएर अनुसन्धान शुरु गरेको छ । अख्तियारले इक्यान, आइरिन र फेकनमा आवद्ध शिक्षा मन्त्रालयमा सुचिकृत रहेका तीनसय ७० वटा कन्सलटेन्सीलाई प्राथमिकतामा राखी छानविन शुरु गरेपछि शिक्षा मन्त्रालयका पदाधिकारीहरु समेत अनुसन्धानको घेरामा परेका छन् ।

शिक्षा मन्त्रालयको प्रमाणिकरण शाखाका पदाधिकारीले डकुमेन्ट नपुगेका कन्सलटेन्सीहरुबाट लाखौं रकम खाई मन्त्रालयको प्रमाणिकरण शाखामा सूचिकृत गराएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छानविन थालेको हो ।

‘मन्त्रालयले सूचिकृत गरेका झण्डै तीन सय कन्सलटेन्सीहरुको फाइल मगाई अनुसन्धान शुरु भएको छ । नक्कली कागजात पेश गरेका कन्सलटेन्सीहरु छरपष्ट रहेको र सूचिकृत गर्न प्रमाणिकरण शाखाका कर्मचारीको पनि मिलेमतो रहेको आशंकामा छानविन भइरहेको छ ।’ अख्तियार स्रोतले बतायो ।

शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिक–२०६८ ले तोकेका शर्तहरु, आवेदनमा संलग्न कागजपत्रलाई अध्ययन गरी अख्तियारले मन्त्रालयबाट फाइल मगाई शुरु गरेको हो ।

त्यसो त, शिक्षा मन्त्रालयमा दर्ता नभएका कन्सलटेन्सीलाई बन्द गराउन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेपछि दर्ता प्रक्रियामा रहेका कन्सलटेन्सीहरुको फाइल पनि अन्यौलमा परेको छ ।