काठमाडौं, २६ असार । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले अंगिकार गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको भूमिका बढाउनु पर्नेमा जोड दिनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यशालाको उद्घाटनका क्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
समाजवाद उन्मुख अर्थतन्त्र सहकारीमार्फत नै संभव छ, त्यसका लागि सहकारी क्षेत्रको विकास, विस्तार र सवलीकरण आवश्यक छ, उहाँले भन्नुभयो । सहकारीहरु विपन्न वर्गका जनताको आयस्तर माथि उठाउन, राज्यलाई कर तिर्न सक्ने नागरिक बनाउन र उत्पादन तथा बजारीकरणतर्फ अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारीप्रति सर्वसाधारणको विश्वास बढ्दै गएको चर्चा गर्दै उहाँले राज्य, सहकारी र नीजि क्षेत्रबीच समन्वय गर्दै सवल अर्थतन्त्रका लागि जुट्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई सक्षम बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सोही अवसरमा अर्थमन्त्री पौडेलले बैंकद्वारा प्रकाशित स्मारिका २०७३ को विमोचन समेत गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले एक दुई वटा गलत काम गरेका सहकारीको उदाहरण दिएर सिंगो सहकारी क्षेत्रको अपमान गर्ने, सहकारीलाई कमजोर बनाउने काम नगर्न सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा सांसदहरु बालकृष्ण खाँड, पशुपति चौलागाई र ओमदेवी मल्ल जोशीले सहकारीमार्फत दीगो आर्थिक विकासका लागि सहकारीमैत्री नीति नियम बनाउने र त्यसको पूर्ण पालना गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बैंकका सल्लाहकार प्रा.डा. विश्वम्भर प्याकुरेल, नेपाल राष्ट्र बैंक लघु वित्त विभागका कार्यकारी निर्देशक डा. विनोद आत्रेय, बैंकका सल्लाहकार धर्मदत्त देवकोटा, सहकारी विभागका रजिष्ट्रार उपेन्द्रबहादुर ढुंगानाले सहकारी बैंकले सहकारी संघ संस्था मार्फत देशको अर्थतन्त्र माथि उठाउन गरेको काम थप प्रकावकारी बनाउन राज्यको ध्यान पुग्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा बैंकका प्रवन्धक सञ्चालक के.बी. उप्रेतीले बैंकको विगत, वर्तमान अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालन र्बैकका सञ्चालक रामबहादुर जिसी र स्वागत सञ्चालक रामहरि बजगाई र धन्यवाद मन्तव्य सञ्चालक ज्ञानबहादुर तामाङले गर्नु भएको थियो । बैंकका सञ्चालक सरिता भट्टराईले आगामी साधारणसमा सम्मान गरिने उत्कृष्ट सहकारी संघ संस्था, सहकारी क्षेत्रमा पुस्तक प्रकाशन गर्ने लेखक, संस्थापक सञ्चालक र पूर्व सञ्चालकहरुको नाम घोषणा गर्नु भएको थियो ।
















प्रतिक्रिया