काठमाडौं, २६ असार । जोजस्तो लाग्छ, माइती नेपाल सुरु भएको, आउँदो वैशाखमा २५ वर्ष पुग्दै छ । २५ वर्षदेखिको मेरो प्रायः दैनिकी एउटै छ । बेचिएका र हिंसामा परेका महिला तथा बालबालिकाहरूसँग नै मेरा दिन बित्ने गर्छन् ।
माइती नेपाल सुरु गर्दा आर्थिक हिसाबले मलाई अति दुःख थियो । मान्छेहरूलाई चेलिबेटी बेचबिखनसम्बन्धी विषयलाई बुझाउन पनि गाह्रो थियो । अहिले त धेरैले बुझेका छन् । पहिलाभन्दा प्रहरीको पनि सहयोग छ । काम गर्न केही सहज छ । तर, समस्या अझै समाधान भएको छैन । नयाँ पत्रिका दैनिकले छापेको छ ।
यसरी सुरु भयो माइती नेपाल
म करिब २० वर्षदेखि शिक्षिका थिएँ । चेलिबेटी बेचबिखनको विषयमा सुन्दै आएको थिएँ । सिन्धुपाल्चोकका युवतीहरूलाई बम्बईमा पुर्याएर बेचिन्छ भन्ने सुनेको थिएँ । यस्तो समस्या हुँदा पनि मान्छेहरू किन त्यहाँ नगएको होला भन्ने लाग्थ्यो । गौशला बस्थेँ, बिहान–बिहान पशुपति मन्दिर जान्थेँ । त्यहाँ माग्ने मान्छेहरू धेरै हुन्थे, कतिपय महिला पनि । ती महिला सबैजसो हृष्टपुष्ट देखिन्थे । कतिपय बालबच्चा लिएर माग्न बसेका थिए । म ती बहिनीहरूसँग कुरा गर्थें । उनीहरू कुनै न कुनै किसिमको हिंसाबाट पीडित थिए । मानवअधिकार हनन भएका महिलाहरू सडकमा थिए, तर उनीहरूबारे पाँचतारे होटलमा छलफल हुन्थ्यो । आँखाअगाडि यस्तो देख्दा उनीहरूलाई किन सहयोग नगरेको होला भन्ने लाग्यो । ती बहिनीहरूसँग मैले किन काम नगरेको, किन माग्न बसेको भनेर सोधेँ । ‘हामीलाई कसले काम दिन्छ र ?’ उनीहरूले उल्टो मलाई प्रश्न गरे । पक्का पनि हो, नचिनेको मान्छेलाई कसले काम दिन्छ र ? तपाईंहरू काम पाए गर्नुहुन्छ ? मैले सोधेँ । उनीहरूले गर्छाैं भने । मसँग पनि पैसा थिएन । मेरो तलब सात हजार थियो । मेरो पनि सानो छोरा थियो, तलब घरमै खर्च हुन्थ्यो । तैपनि नाङ्लो पसल खोलिदिन्छु गर्नुहुन्छ भन्दा गर्छाैं भने । असन गएर बुझ्दा एउटा नाङ्लो पसलका लागि करिब एक हजार रुपैयाँ लाग्दो रहेछ । एक हजार रुपैयाँ दिएर आठजनालाई त्यस्तो पसल खोलिदिएँ । तर, उनीहरूका छोरीहरू त त्यही पशुपतिमै घुमेर बस्थे । उनीहरू उच्च जोखिममा थिए । ती महिलाले बच्चाहरूलाई पनि कहीँ राखिदिन आग्रह गरे । मैले केही नसोची उनीहरूलाई ल्याएर राखिदिएँ । पिंगलास्थानमा दुईवटा कोठा खोजेँ, आफू पनि त्यहीँ सरेँ र उनीहरूलाई त्यहीँ राखेँ । उनीहरूलाई सरसहयोग खोजेर पढाउन पनि थालेँ ।
मान्छेहरूले युनिसेफलाई भनिदिएछन्, यसरी उसले बच्चा पालेको छ भनेर । करिब आठ महिनापछि युनिसेफका मान्छे आएर सोधे, सहयोग गर्ने कुरा गरे । तर मैले त केही दर्ता नै गरेको थिइनँ । त्यसपछि हामी सातजना मिलेर माइती नेपाल स्थापना गरेका हौँ । युनिसेफले सहयोग गर्नुभन्दा पहिला नै महिला र बालबालिका गरेर २५ जना भइसकेका थिए । मेरो दिमागचाहिँ पहिलेदेखि नै सिन्धुपाल्चोकमा थियो । यो जिल्लामा केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । त्यसपछि हामीले सातवटा जिल्लामा जनचेतना कार्यक्रम सुरु गर्यौँ । युनिसेफले पनि त्यसमा सहयोग गर्यो । वकिल, पत्रकार, शिक्षिका, नर्सहरूलाई समेत सँगै लगेर हामीले जनचेतना कार्यक्रम सुरु गर्यौँ । त्यसपछि बम्बईमा पुगेका चेलीहरूको उद्धार पनि सुरु गर्यौँ । एकैपटक करिब तीन सयजना नेपाली चेलीहरूको त्यतिवेला उद्धार भएको थियो । तीमध्ये केही हाम्रोमा बसे, अरू विभिन्न संस्थामा । १९९५ देखि हामी आफैँ उद्धार गर्न थाल्यौँ । हामी गाउँ–गाउँ गएकाले हाम्रो बारेमा धेरैले थाहा पाए । त्यतिवेला झन्डै डेढ लाख नेपाली महिला भारतमा बेचिएका छन् भन्ने थियो । त्यतिवेला छोरी हरायो कि प्रहरीमा भन्दा पहिले हामीकहाँ रिपोर्ट गर्न आउँथे । भारतबाट पनि यति केटीहरू यहाँ छन्, लिन आऊ भन्ने सूचना आउन थाल्यो । पछि महिला हिंसासम्बन्धी घटनामा परेका महिलालाई प्रहरीले पनि हामीकहाँ पठाइदिन्थे । हामीले विभिन्न किसिमका तालिम दिएर उनीहरूलाई पुनस्र्थापन गर्दै आयौँ । हामीले गर्ने अहिले पनि त्यस्तै हो । सिलाइ, ब्युटिपार्लरजस्ता विभिन्न तालिम दिई केही पैसा दिएर व्यवसायका लागि सहयोग गर्छाैं । कतिपय बहिनी पाँचतारे होटलमा समेत काम गर्छन् । धेरै राम्रो कमाउनेहरू पनि छन् । विभिन्न नाकामा पनि उनीहरू नै खटिएका छन् । १५ हजारभन्दा धेरैलाई हामीले पुनस्र्थापित गरेका छौँ ।
पहिलो असफल अप्रेसन
कोठीमा गएर उद्धारको काम एकदम जोखिमपूर्ण हुन्छ । त्यहाँ पहिला ग्राहक भएर छिर्नुपर्छ । ग्राहक बनेर छिरेपछि उनीहरूलाई वास्तविकता बताउँछौँ । उनीहरू घर फर्कन तयार हुन्छन्, त्यसपछि भारतीय प्रहरीको सहयोगमा हामी उद्धार गर्छौ । हाम्रो पहिलो अप्रेसन असफल भएको थियो । मुम्बईका मेयर गोविन्द खैरनारको सहयोगमा हामी अप्रेसनमा गएका थियौँ । खैरनार निकै लोकप्रिय व्यक्ति थिए । उनी भनेपछि सबै डराउँथे, ठुल्ठूला अपराधीसमेत हल्लाएका थिए । उनलाई भेटेर हामी यस्तो हौंँ, उद्धार गर्न आएका हौँ भनेपछि उनले सहयोग गर्ने वचन दिए । उनी आफैँ पनि हामीसँगै उद्धारमा निस्किए । त्यहाँ सबैले चिनेर उनलाई सलाम साब भन्थे । उनीसँगै गएर हामीले करिब १५ जना नेपाली बहिनीहरूलाई कोठीबाट निकाल्यौँ । एउटा कोठीवाली आएर गोविन्द सरसँग ‘क्युँ सर हमारी पेटमें लात मार्ते हो’ भनी । त्यसपछि एकैछिनमा त्यो टोलका सबै कोठी सञ्चालक जम्मा भएर भाँडा र जुत्ताले हामीमाथि आक्रमण गर्न थाले । हामीसँग स्थानीय पुलिस त थियो तर उनीहरूले रोकेको जस्तो गर्दै ‘यहाँ लफडा हुन्छ जाऊ भन्न थाले । अहिले पनि सम्झन्छु, एकै छिनमा उद्धार गरिएका सबै बहिनी गायब भए । पहिलो अप्रेसन नै असफल भयो । बम्बईका केही यस्ता क्लस्टर थिए, जहाँ नेपाली मात्र हुन्थे । अहिले पनि नेपाली बहिनीहरू भारतमा पुर्याएर बिक्री भइरहेको छ । तर, बम्बईमा पहिलोजस्तो कोठी छैन । विभिन्न होटल र अपार्टमेन्टहरूमा वेश्यावृत्ति हुने गरेको छ । दिल्ली, आग्रा, हरियाना, सिलिगुढी सबै ठाउँमा पुगेका छन् । दिल्ली हुँदै विभिन्न देशमा नेपाली युवती पुग्ने गरेका छन् । हामीले नै सुजाता कोइराला परराष्ट्रमन्त्री भएका वेला नेपाली युवतीहरूलाई दिल्लीबाट विदेश जान रोक्नुपर्यो भनेर पहल गर्यौँ । वैदेशिक रोजगारीको नाममा अहिले पनि नेपाली चेलीको बेचबिखन चलिरहेको छ । तीन वर्षअघि श्रीलंकाबाट फर्किएका तीनजना बहिनीहरूले आफ्नो पीडा सुनाएका थिए । त्यहाँका मन्त्रीहरूले नै उनीहरूलाई प्रयोग गरे । पैसा दिँदैन थिए, क्रेडिट कार्ड दिन्थे, जति चलाए पनि हुने । जब ती केटीहरूको भिसा सकियो, त्यो क्रेडिट कार्ड पनि खोसेर उनीहरूलाई अलपत्र पारिीयो । अहिले नयाँ ट्रान्जिट श्रीलंका देखिएको छ । पहिला जसरी दिल्लीलाई ट्रान्जिट बनाएर विभिन्न देश पुर्याइन्थ्यो, अहिले त्यसैगरी श्रीलंका नेपाली युवतीहरू बिक्रीको नयाँ ट्रान्जिट बन्न पुगेको छ । युद्ध भइरहेका इराक, सिरियाजस्ता देशमा पनि पुर्याइएको छ । ती देशमा महिलाहरूको माग बढी छ । युद्धमा गएका जति पनि पुरुष छन्, उनीहरू आनन्दका लागि विभिन्न देशका युवतीलाई वेश्यावृत्तिमा लगाउँछन् । मलाई साथीहरूले भन्छन्, ‘अनुराध, तिमी विदेशमा धेरै फोकस भइरहेकी छ्यौ, तर नेपालमै पनि यस्तो भइरहेको छ ।’ जनयुद्धको समयमा सुरक्षाका लागि मान्छेहरू सहर आए, सहरमा जागिर खोज्ने क्रममा डान्सबार, दोहोरी, गजल हुँदै उनीहरूलाई वेश्वावृत्तिमा लगाइयो । राज्यसंयन्त्रबाट अनुगमन हुन नसक्दा नेपालमा पनि वेश्यावृत्ति र मानव बेचबिखन हुने गरेको छ ।
बिर्सन नसकिएका व्यक्ति
म जनचेतना फैलाउने काममा गएको थिएँ । हाम्रो घर सर्ने वेला भएको थियो । सबैलाई सार्न भनेर गएको थिएँ । फर्केर आउँदा सिर्जना नामकी एकजना बहिनी सर्न मानिनछिन् । म उनलाई भेट्न गएँ, मलाई छाडेर कहाँ गएको भनेर उनी एकदमै रोइन् । हामीले उनलाई भारतबाट उद्धार गरेर ल्याएका थियौँ । एचआइभीले उनी एकदमै सिकिस्त भइसकेकी थिइन् । उनलाई बचाउन सकिने अवस्था थिएन । उनले मलाई भेटेपछि चारवटा इच्छा भनिन् । दक्षिणकाली, स्वयम्भू, बौद्ध र मनकामना घुम्ने उनको इच्छा रहेछ । मैले दक्षिणकाली, स्वयम्भू र बौद्ध घुमाएँ, तर मनकामना लैजान सकिएन । सिर्जना असाध्यै सुन्दर थिई । कालो लामो कपाल थियो । सानोमा कति सुन्दर थिई होला भन्ने लाग्छ । भोजपुर घर भएकी उनलाई धरान आउँदा आठ वर्षको उमेरमा बम्बईमा पुर्याएर बेचिएको रहेछ । उसका बाबुआमा को भन्ने पनि हामीलाई थाहा थिएन । घर भोजपुरको कुन ठाउँ हो भन्ने उनलाई पनि थाहा थिएन । उसका आमाबुबाले कति खोजे होलान् उसलाई ? मृत्युपछि समेत उसको अपहेलना भयो । पशुपतिमा जलाउन एक हजार रुपैयाँ लाग्थ्यो तर उसलाई जलाउन आठ हजार रुपैयाँ मागियो । उसलाई एचआइभी भएको कारण देखाइयो । बालककालदेखि नै मान्छेहरूले उसलाई चुसे । पछि महिला भइन्, उनको अधिकार हनन भयो । मृत्युपछिसमेत उनको अधिकारको हनन गरियो । त्यो घटनाले मलाई साह्रै नै दु:खी बनायो । म धेरै नै रोएँ । अहिले पनि सिर्जनालाई सम्झँदा साह्रै पीडा हुन्छ । सिर्जनाजस्तै कैयौँ बहिनीसँगका सम्झनाले पनि मलाई कहिलेकाहीँ दु:खी बनाउँछ । निशा भन्ने अर्की बहिनी थिइन् । उनी पछि एक्टिभिस्ट भइन्, बोर्डर क्षेत्रमा पनि काम गरिन् । पछि त्यही रोगका कारण उनको पनि ज्यान गयो ।
रुम्जाटार, सिलोङ हुँदै काठमाडौं
म गुरुङकी छोरी हुँ । राजाहरूले गुरुङकी छोरी बिहे गरेकाले घन्टाघरनेरी गएर ‘हाम्री छोरी फिर्ता दे’ भनेर रोएपछि हामीलाई देश निकाला गरिएको थियो । त्यतिवेला देश निकाला भनेको उपत्यकाको चारभञ्जाङ कटाउने हुन्थ्यो । त्यही वेला झापा हुँदै हामी रुम्जाटार पुगेका रहेछौँ । मेरो बुबा भारतीय सेनामा कर्णेल हुनुहुन्थ्यो । म सिलोङमा जन्मिएको हुँ । त्यसकारण हाम्रो पढाइ–लेखाइ उतै भयो । बुबा आर्मीमा भएकाले होस्टेलमै बसेर मैले पढेँ । पढाइमा म अब्बल नै थिएँ । सानैदेखि एकदमै हक्की र केही गर्नुपर्छ भन्ने स्वभावको थिएँ । स्कुल पढ्दा एयरहोस्टेस हुन्छु भन्ने सपना थियो । तर, परिवारले रुचाएनन् । माइलो दाजुले त ‘कस्तो बुद्धि यसको, एयरहोस्टेस हुनुभन्दा त कसैको घरमा गएर काम गर्नु नि नाकै काट्ने भई यसले’ भन्नुभयो । एयरहोस्टेसले प्लेनमा अरूले खाएको भाँडा उठाउने काम गर्ने, धेरैजनाको भाँडा उठाउनुभन्दा कसैको घरमा काम गर्दा एकैजनाको भाँडा उठाए हुन्छ भनेर मलाई सबैले गाली गरे । मलाई जे काम गरे पनि हेला गर्नु हुन्न भन्ने थियो । तर, परिवारबाट निकै गाली गरेको दिनदेखि मैले एयरहोस्टेस हुने चाहना त्यागेँ । बुबाको सपनाचाहिँ कानुन पढाएर लन्डन पठाउने थियो । त्यतिवेलाको समयमा हाम्रा चार दाजुभाइलाई आमाबुबा र बाजेले नेपाली स्कुलमा पढाउनुभएको थियो, तर हामी दुई दिदीबहिनीलाई भने बोर्डिङ स्कुलमा पढाएर होस्टेलमा राख्नुभएको थियो । छोराभन्दा पनि छोरीलाई राम्रोसँग पढाउनुपर्छ भन्ने हाम्रो परिवार थियो । छोरीलाई राम्रोसँग पढाउँदा उनीहरू आफैँ जागिर खाने र श्रीमान्ले हेप्न नसक्ने विश्वासका कारण हामीलाई त्यसरी अंग्रेजी स्कुलमा पढाउनुभएको थियो । एयरहोस्टेस बन्ने सपना छाडेपछि म लक्ष्यहीनजस्तो भएँ । मुख्य विषय अंग्रेजी लिएर कलकत्तामा कलेज पढेँ ।
अनि शिक्षिका बनेँ
त्यतिवेला अंग्रजी स्कुलको नेपालमा भर्खरे लहर सुरु भएको थियो । सुरुमा मैले वीरगन्जमा बसेर पढाएँ । दाइहरूले त्यहाँ स्कुल खोल्नुभएको थियो, त्यही स्कुलमा अंग्रेजी विषयको शिक्षिका भएर काम गरेँ । २०२३ सालमा म काठमाडौं आएँ । वीरगन्जबाट काठमाडौं आएपछि डिल्लीबजारको अमर आदर्श स्कुलमा पढाउन थालेँ । मेरो तलब दुई सय ५० रुपैयाँ थियो । त्यो स्कुल धेरै राम्रो चलेको थियो । त्यही स्कुलमा मैले भुवन केसीलाई पनि पढाएको थिएँ । पछि बुढानिलकण्ठ स्कुलमा आबद्ध भएँ । ०३२ सालसम्म बुढानिलकण्ठ स्कुलमा पढाएँ । त्यसपछि त्रिशक्ति स्कुल भनेर डिल्लीबजारमा खोल्यौँ । माइजूले मैतीदेवी हाईस्कुल खोल्नुभयो । अहिले पनि पीपलबोटको छेउमा दुवै स्कुल छन् । मैतीदेवी हाई स्कुल अहिले पनि हाम्रो आफन्तले नै चलाउँछन्, त्रिशक्तिचाहिँ मैले सानु अमात्यलाई छाडिदिएको हुँ ।
अन्तर्जातीय प्रेमविवाह
अमर आदर्श स्कुलमै पढाउँदाखेरि मेरो बिहे भएको हो । त्यतिवेला म गुरुङकी छोरी उहाँ कोइरालाको छोरा । मागीविवाह त सम्भव नै थिएन । हाम्रो प्रेमविवाह हो । मैले पढाउने स्कुलनजिकै उहाँको घर थियो । त्यही क्रममा चिनजान भएको थियो । मेरा सासूआमा एकदमै कट्टर हुनुहुन्थ्यो । मलाई त भोटिनी भन्नुहुन्थ्यो । म भोटिनी भन्नलाई म भोटबाट आएको होइन भन्ने गर्थें । बिहेपछि पनि मेरो नागरिकतामा गुरुङ नै थियो । एक दिन मेरो नागरिकता हरायो । तीन वर्षसम्म खोज्दा पनि पाइएन । पुराना रेकर्ड पनि नपाएपछि पछि कोइराला भएको हुँ । अहिले पनि दाजुहरू गुरुङबाट कोइराला भएकोमा रिसाउनुहुन्छ । पछि हाम्रो वैवाहिक जीवन धेरै राम्रो हुन सकेन । हुन त अहिलेसम्म पनि हामीले डिभोर्स गरेका छैनौँ तर छुट्टाछुट्टै बसेका हौँ । म पनि उसलाई सम्झन्छु, उसले पनि मलाई सम्झन्छ होला । जीवनको यो पाटो अलि विरक्तलाग्दो छ, त्यसकारण यो विषयमा त्यति कुरा गर्न चाहन्न । मेरो जीवन देशलाई चेलिबेटी बेचबिखनमुक्त नबनाई सन्तुष्ट हुँदैन । धेरै सम्मान र अवार्ड पाएँ, तर त्यसले मलाई ठूलो खुसी दिएको छैन ।
जिन्दगीका सुखदु:ख
म खुसी र फ्रेस देखिन्छु । तर, हरेक दिन म रोएको हुन्छु । बिक्री भएका चेलीहरूको पीडाले मलाई हरेक दिन रुवाउँछ । किन मैले यस्तो बिक्री, ओसारपसार रोक्न सकिनँ ? किन यस्तो भइरहेको छ ? भनेर असाध्यै पीडा हुन्छ । हरेक बेलुका एक्लै भएपछि रुने गर्छु । जिन्दगीमा धेरै दु:ख छन् । नेपाली चेलीहरू विभिन्न देशमा बिक्री भइरहेका छन् । यसले मलाई धेरै दु:ख दिन्छ । व्यक्तिगत दु:खको कुरा गर्नुपर्दा भेट भयो, बिहे भयो, पछि छुट्नुपर्यो, त्यही दु:ख लाग्छ । कतै ज्योतिषहरू भेटेँ भने कति बाँच्छु होला भनेर सोध्छु । त्यसपछि आफ्नो आयु हिसाब गर्छु । अनि यति उमेरमा के–के गर्न सक्छु भनेर योजना बनाउँछु । आफ्नो बाँच्ने वर्ष औँलामा भाँचेर छिटो गर्नुपर्छ भन्ने लाग्छ । जीवन भनेको चुनौती नै चुनौतीले भरिएको छ । ती चुनौतीलाई कसरी पार लगाउने भन्नेमै जीवनको मूल मन्त्र छ जस्तो लाग्छ । म भगवान्लाई विश्वास गर्छु । भगवान् पक्कै छन् । भगवान्लाई तपाईंले कसरी लिनुहुन्छ भन्ने मात्र हो । बच्चाहरूमा म भगवान् देख्छु । उनीहरूकै सेवा गर्दा धर्म हुन्छ भन्ने लाग्छ । जुन पीडा देख्छु, त्यसले मलाई ड्राइभ गरिरहेको हुन्छ । म आफूलाई सफल भएजस्तो लाग्दैन । जुन दिन नेपालमा चेलिबेटी बेचबिखन बन्द हुन्छ, त्यो दिन मात्र सफल हुन्छु । अहिले त हामीले के गरेका छौँ ? जे गरिरहेका छौँ, त्यो त हाम्रो कर्तव्य न हो । समस्या धेरै छन् । गर्नुपर्ने काम धेरै छन् । मर्नुभन्दा अगाडि धेरै काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । जब बच्चाहरू नाच्छन्, गाउँछन्, त्यही वेला म सबैभन्दा धेरै खुसी हुन्छु । बेचिनेहरूको पीडा र यहाँ रहेका बच्चाको खुसीले नै मेरो जीवन निर्देशित गरेको छ ।















प्रतिक्रिया