१० कार्तिक २०८३, मंगलबार

देउवालाई दबाब दिन कराँते क्लवमा खुमबहादुरको गोप्य भेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum Bdr Khadka 2काठमाडौं, २६ असार । कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले आफूलाई उपसभापति मनोनीत गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

तीनपटक भेटेर दबाब दिए पनि देउवाले टारेको भन्दै खड्काले शनिबार आफूपक्षीय नेता–कार्यकर्ताको भेला गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि खड्काजीलाई उपभापति दिने प्रतिबद्धता गर्नुभएको हो । तर, अहिले भ्रातृ संस्थाको अधिवेशनपछि मात्र पदाधिकारी चयन गर्ने भनेर ढिलाइ हुँदै आएको छ,’ भेलामा सहभागी नेता देवेन्द्रराज कँडेलले भने, ‘पदाधिकारी चयन किन ढिलाइ भइरहेको छ । केन्द्रीय सदस्य पनि हाम्रो पक्षलाई दिने भन्ने थियो तर दिइएन । यिनै विषयसहित भातृ संस्थाको अधिवेशन र हिन्दु धर्मबारे छलफल गर्न भेला डाकेका हौ ।’

भेलाले आफ्नो पक्षलाई समेत मिलाएर लैजान देउवा तयार हुनुपर्ने निष्कर्ष निकालेको छ । लगनखेलस्थित कराातेको कार्यालयमा दिउँसो ३ बजेदेखि दुई घन्टा चलेको भेलामा खुमबहादुर खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहित दुई सय महाधिवेशन प्रतिनिधि सहभागी थिए ।

पार्टी पदाधिकारी तथा सदस्य मनोनित गर्न ढिलाइ भएमा अपजस जति देउवालाई नै जाने भन्दै छिटो गर्न पहिले दबाब दिने, त्यसो नभए थप रणनीति बनाउनेबारे सहभागीले सुझाब दिएका थिए ।

‘विधानमा दुई महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिने भन्ने भए पनि चार महिनासम्म हुन नसक्दा जसअपजस सबै सभापतिलाई गइरहेको छ,’ कँडेलले भने, ‘समयभन्दा ढिलो गर्दा अपजस मात्रै बोक्नुपर्ने अवस्थाबाट मुक्त हुनुस् भनेर अब दबाब दिन्छौं ।’

हिन्दु राज्यका लागि फरक दबाब

खड्का पक्षले अब हिन्दु धर्मप्रति आस्था राख्ने अन्य दल र व्यक्तिको साथ लिएर थप अभियान चलाउने भएको छ । ‘१३औ महाधिवेशनले हिन्दु राज्य नेपालको हाम्रो अभियान ओझेलमा पर्‍यो । खड्काजीको स्वास्थ्यको कारणले पनि लाग्न पाएनौ । अब फरक ढंगले जान्छौँ,’ देवेन्द्रराज कँडेलले भने, ‘अब कांग्रेसको नामबाट मात्र होइन, धर्मप्रति आस्था राख्ने संस्थालाई पनि समेटेर जान्छौ, उनीहरूको सुझाब लिएर । सबै समूह अट्ने गरी साउनमा भेला गर्छौं ।’

भागबन्डाको सहमति भएको हो : खड्का

दुई–तीनपटक भेटेर पनि पदाधिकारी चयन गर्न भनिसकेको छु । उपसभापति मात्र होइन, अरू पदाधिकारी र केन्द्रीय सदस्यसमेतमा भागबन्डा गर्ने सहमति भएको हो । तर, चार महिना भइसक्यो ढिलाइ हुँदै आएको छ । फेरि भ्रातृ संस्थाको अधिवेशन पनि आएको छ । सुनिँदै छ भ्रातृ संस्थाको अधिवेशनपछि मनोनीत गर्ने भन्ने । अब यसरी हुँदैन । पदाधिकारी मनोनीत गर्ने र भ्रातृ संस्थाको अधिवेशन आपसी सरोकारका विषय होइनन् ।