– विकाश पराजुली
बुटवल, २५ असार । बुटवल उपमहानगर पालिकाले बार्षिक रुपमा छाडा चौपाया नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि लाखौ रकम खर्च गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन् ।
नगरपालिकाले विनियोजित गरेको बजेट व्यवहारमा लागु नभएपछि हाटबजार व्यवसायी संघले हाटबजारमा छाडा चौपाया नियन्त्रणका लागि आफैले पहल गरिरहेको छ । उपमहानगर पालिकाले बार्षिक रुपमा प्रबद्र्धनात्मक कार्यक्रम तर्फ छाडा चौपाया नियन्त्रण तथा कान्जी हाउस व्यवस्थापनका लागि बार्षिक २ लाख रुपैयाँ विनियोजित गर्दै आएको छ ।
हाटबजार व्यवसायी संघ रुपन्देहीले बुटवलका विभिन्न दुई स्थानमा लाग्ने हाटबजारबाट छाडा चौपाय नियन्त्रणका लागि गोरु हेरेको भन्दै साप्ताहिक बजारबाट पाँच रुपैया उठाउने गरेको छ । बुटवल उपमहानगर पालिका वडा नं. ७ मा रहेको हाटबजार र बुटवल १० स्थित दिपनगरमा लाग्ने हाटबजारबाट खाद्यान्य, तरकारी तथा फलफुल व्यवसायीबाट प्रति व्यवसाय पाँच रुपैयाँ उठाउने गरेको हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जोसीले बताए । हाटबजारमा गाई गोरु तथा चौपायहरु पसी तरकारी, फलफुल, खाद्यान्य एवं उपभोत्ताहरुलाई तर्साउने गरेपछि संघले त्यसको नियन्त्रणका लागि कर्मचारी नै खटाएर शुल्क उठाउँदै आएको अध्यक्ष जोसीको भनाई छ ।
बुटवल उपमहानगर पालिकाले हरेक बर्ष ठेकेदार मार्फत बैठकी कर अशुल्दै आएको छ । चालु आवमा ठेकेदार सुन्दर नेपालले बुटवल उपमहानगर पालिका सँग दुई बर्ष सम्झौता गरी ६० लाख रुपैयामा ठेक्का पाएको छ । ठकेदारले सेडको ४५ रुपैयाँ, पेटीमा ४० रुपैया र भुईमा व्यवसाय गर्ने व्यवसायी बाट ३५ रुपैयाँ उठाउँदै गर्दछ । यो रकम बुटवल हाटबजार र दिपनगरमा बजारमा उठाउने गरिन्छ । अन्य स्थानमा सञ्चालन भएका हाटबजारबाट भने अनुपातमा ३५ रुपैयाँ उठाउने गर्दछ ।
यति ठुलो रकम उपमहानगर पालिकाले हाटबजार बाट उठाउने गरेको भएपछि हाटबजारमा आउने छाडा चौपाया भने नियन्त्रण गर्न सकेको छैन् । बुटवल उपमहानगर पालिकाका बरिष्ठ अधिकृत शिवनारायण शाहले बैठकी कर उठाएर हाटबाजरलाई सेवा दिनुपर्ने आफ्नो कर्तव्य रहेको बताए ।
उनले भने–“छाडा चौपाया नियन्त्रण हाम्रो कर्तव्य हो, हामी यसमा प्रयासरत पनि छौ” उनले भने–“हाटबजारमा भने जस्तो गर्न सकिएको छैन, हामीले त्यो गर्नेछौ ।” उनले हाटबजार व्यवसायी संघले गोरु हेर्नका लागि उठाउने गरेको पाँच रुपैयाँ बारे भने आफु बेखर रहेको बताए । उनले ठेकेदार सँग भएको सम्झौता अनुसार संघले काम कारबाही गर्नुपर्ने अन्यथा सम्झौत भन्दा बाहिर गई कार्य गरे संघ कारबाहीमा पर्ने बताए । “हामीलाई अझै कसैले पाँच रुपैयाँ उठायो भनेर उजुरी गरेको छैन् उजुरी गरेमा कारबाही हुन्छ” उनले भने ।
बुटवल ७ मा बुधबार र शनिबार हाटबजार लाग्ने गर्दछ भने दिपनगरमा सोमबार र विहिबार हाटबजार लाग्दछ । संघले चौपाया नियन्त्रण तथा पैसा उठाउनका लागि बल बहादुर बुढा (माईला दाई) लाई जिम्मा दिएको छ । माईला दाईले नै दैनिक ज्यालादारीमा पैसा उठाउने तथा गोरु हेर्नका लागि मानिस राख्ने गर्दछन् ।
छाडा चौपायाले व्यवसायीलाई दुख दिएपछि नगरपालिकालाई जानकारी गराउँदा सामान्य कुरा आफै व्यवस्थापन गर्न भनेपछि संघले दैनिक ज्यालादारीमा गोरु हेरालु राखेको हाटबजार व्यवसायी संघले बताएको छ ।
दुई स्थानमा गरी महिनाको १६ वटा बजार लाग्ने गर्दछन् । त्यी १६ वटै बजारबाट चौपाया हेरचाह गर्नेले पैसा उठाउने गर्दछ । अध्यक्ष जोसीले करिव ५ सय व्यवसायीबाट रकम उठाउने र उठाएको रकमलाई व्यवस्थित रुपमा खर्च कटाई राहत तथा उद्दार कोषमा जम्मा गर्ने गरेको बताए । करिव ५ सय व्यवसायीबाट मासिक ३० हजार उठ्नुपर्ने भएपनि व्यवसायीक नियमित नहुँदा करिव २२ हजार सम्म रकम उठाउने गरेको बताए । उनले उठेको रकम मध्ये ५ हजार सम्म राहत तथा उद्दार कोषमा जम्मा हुने गरेको बताए ।
“हामीले सो रकम स्वऐच्छिक रुपमा उठाएका छौं, उठाएको रकम दैनिक ज्यालादारीलाई दिएपछि बाँकी रहेको रकम हाटबजार व्यवसायी संघ अन्तर्गतको राहत तथा उद्दार कोषमा हामीले जम्मा गर्दै आएका छौ” अध्यक्ष जोसीले भने ।
हाटबजार व्यवसायी संघले ४ बर्ष अगाडि सम्म आफै उठाउ आफै खाउँ भन्दै हेरालु राखेपनि अहिले भने व्यवस्थित रुपमा हेरालु राखेको छ । संघको रसिद विना पाँच रुपैया कसैले पनि नदिने गरेको स्वय व्यवसायीहरु समेत बताउँछन् ।
चारै स्थान खुल्ला रहेको हाटबजारमा मानिस नै हेरालु राखेर नियन्त्रणका लागि सम्भव नभएपनि संघले नगरपालिकाले गर्नुपर्ने कामलाई प्रयास भने थालेको संघको दावी छ । संघले यसलाई व्यवस्थित गर्न अझ प्रभावकारी ढंग बाट योजना बनाउन लागेको अध्यक्ष जोशीले बताए ।
“२ बर्ष मात्र भयो हामीले यसलाई अझ व्यवस्थित गरेका छौं, उठाएर बाँकी रहेको रकम समेत हामीले राहत कोषमा जम्मा गर्ने गर्दछौ” अध्यक्ष जोसीले भने । अहिले सम्म कोषमा ६० हजार रुपैयाँ जम्मा भएकोमा सहयोग पश्चात १५ हजार बाँकी रहेको छ । सो सहयोग भने त्यहि पाँच रुपैया उठाउनेलाई मात्र गर्ने संघले नियम बनाएको छ । कुनै सहयोग चाहिएमा निवेदन पश्चात संघले एक जनालाई बढिमा ५ हजार सम्म सहयोग गर्दै आएको हाटबजार व्यवसायी संघ रुपन्देहीका पुर्व अध्यक्ष भिमलाल ज्ञवालीले बताए ।
कुनै समयमा संघले चौपायाहरुलाई कान्जी हाउसमा लगेर राख्ने समेत गरेको भएपनि कान्जी हाउस व्यवस्थित नभएपछि संघले दैनिक ज्यालादारीमा चौपाया नियन्त्रणका लागि राखेको हो ।
नगरपालिकालाई बैठकी कर तिरेपछि नगपालिकाले व्यवस्थित गर्नुपर्नेमा व्यवसायी आफैलेनै व्यवस्था गर्दै आएका छन् । बुटवल उपमहानगर पालिकाका सुचना अधिकृत लेखनाथ पौडेलले बैठकी कर उठाए पनि चौपाया नियन्त्रण हाटबजारमा सामान्य कुरा भएपछि व्यवसायीलाई नै जिम्मा दिएको बताए । उनले नगरपालिकाले चौपाया नियन्त्रण हाटबजारमा मात्र गर्नु सम्भव नभएको र समग्रमा रहेका चौपाया र त्यसको व्यवस्थापनका लागि सो रकम छुट्याएको प्रष्ट पारे ।
चौपाया नियन्त्रणका लागि व्यवसायी संघले उठाएको पाँच रुपैयाँ बारे भन्ने नगरपालिकाले कुनै चासो लिएको छैन् । बैठकी कर उठाएपछि नगरपालिकालनै त्यसको व्यवस्थापन गर्नुपर्नेमा सामान्य भन्दै व्यवसायीलाई जिम्मा दिएको छ । संघका पुर्व अध्यक्ष ज्ञवालीले नगरपालिकाले आफै व्यवस्थापन गर्न भनेपछि फलफुल, तरकारी र खाद्यान्यको हाट गर्ने व्यवसायीबाट पाँच रुपैया उठाउने गरेको बताए ।
उनले भने “हामीले नगरपालिकाले भने अनुसार नै व्यवसायीको हितका लागि गरेका हौ, त्यो पनि स्वेच्छिक रुपमा उठाउँने गरेका छौं, कसैले दिन्न भन्यो भने हामीले जवरजस्ती गर्दैनौं ।”
हाटबजारमा विगत ६ बर्ष देखि व्यवसाय गर्दै आएका मदनलाल अग्रहरीले संघले चौपाया नियन्त्रणका लागि प्रत्येक हाटबाट पाँच रुपैया लैजाने गरेको बताए । उनले चौपाया नियन्त्रणका लागि पैसा लगेपनि अहिले भने आफैले धपाउने गरेको गुनासो गरे ।
“पहिले पहिले त आएर धपाउने गर्दथे अहिले त यहाँ आईहाल्यो भने हामीले नै धपाउँदै आएका छौ” अग्रहरीले भने । अर्का व्यवसायी श्याम गुप्ताले बैठकी कर सँगै पाँच रुपैया लगेपनि काम भने सोचे जस्तो नगरेको गुनासो गरे । उनले नगरपालिकाले बैठकी कर उठाए वापत नै चौपाया हेर्नुपर्ने बताए । हाटबजार व्यवसायी संघले चौपाय नियन्त्रणका लागि हेरालु राखेपछि अहिले त्यस्तो कुनै घटना नभएको बताएको छ । रुपन्देहीमा लाग्ने अन्य हाटहरुमा यस्तो समस्या नभएकाले दुई स्थानका हाटबजारमा मात्र शुल्क उठाउने गरेको पुर्व अध्यक्ष ज्ञवालीले बताए ।
गोरु हेरालु बल बहादुर बुढा (माईला दाई) ले आफुहरुले हाटबजारका केही व्यवसायीबाट पैसा उठाएर संघलाई दिने र संघले आफुहरुलाई दैनिक ज्यालादारी दिने गरेको बताए । उनले भने, कुनै दिन ५ सय हुन्छ, कुनै दिन ८ सय पनि हुन्छ, उठेको रकम संघलाई लगेर दिन्छौ । उनले पैसा आफुले उठाउने र चौपाया हेर्नका लागि ३,४ वटा हेरालु राख्ने गरेको बताए ।
संघले दैनिक ३ सय ज्यालादारीमा बल बहादुर बुढालाई हेरालुको रुपमा राख्ने गरेको छ । बुढाले पुनः २ सय ज्यालादारीमा काम गर्ने मानिस राख्दै आएका छन् । बुटवल टुडेको टिम हाटबजार पुग्दा गोरु हेरालु बल बहादुर बुढा हाटबाजरमा रहेको सार्वजनिक शौचालय नजिकै सानो टहरमा तफदिै थिए भने दिपनगर पुग्दा मन्दिरको छेउमै रहेका थिए । हेरालु बुढाले भने–“सधै एउटा मान्छेले मात्र हेर्दैन, दिन दिन फेििरने गर्दछ, ज्यालादारीमा काम गर्नेलाई खोजेर हेर्न लगाउनुपर्छ ।”
उनले हाटबजार क्षेत्रलाई चार कोणले घेरी हेर्ने गरेको बताए । “हामीले तरकारी, फलफुल र खाद्यान्यलाई प्राथमिकतामा राखेर पुर्व, पीश्चम उत्तर दक्षिण गरेर ज्यालादारीमा काम गर्ने मान्छे राख्दै आएको छौ ।”
“व्यापारीले पहिले आउथे अहिले आफै धपाउनुपर्छ भन्छन नि ?” भन्ने बुटवल टुडेको प्रश्नमा बल बहादुर बुढााले कहिले काँही त्यस्ता घटना अनजानमा हुने गरेको स्वीरका गरे ।
रुपन्देही जिल्लामा करिव १ सय २० स्थानमा हाटबजार लाग्ने गर्दछ । रुपन्देहीका अधिकांश हाटबजारहरु व्यवस्थित नहुँदा उपभोत्ताहरुले सहज रुपमा बजार गर्न समेत पाएका छैनन । संघका अनुसार जिल्लामा करिव २५ प्रतिशत स्थानमा मात्र व्यवस्थित हाटबजार लाग्ने गरेको र बाँकी ७५ प्रतिशत स्थानमा अव्यवस्थित रुपमा हाटबजार लाग्ने गरेको बताएको छ ।
अहिले सम्म संघमा करिव ४५ सय सदस्य आबद्ध छन् भने समग्रमा जिल्लामा करिव १० हजार हाटबजार व्यवसायी रहेको हाटबजार संघले जनाएको छ ।
















प्रतिक्रिया