१० कार्तिक २०८३, मंगलबार

कर्मचारीले दिने हैरानी, आन्दोलन र असुरक्षाका कारण व्यापारीहरू पलायन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapadaवीरगञ्ज, २५ असार । सिम्रौनगढमा वर्षौदेखि किनारा पसल चलाएका उमेश गुप्ता अहिले सीमावर्ती भारतीय बजार घोडासहनमा कपडा पसल खोलेका छन् ।

‘सबै ग्राहक किनमेल गर्न घोडासहनमै जान थालेका छन्’, उनले भने, ‘मेरो मात्रै होइन, यहाँका लगभग सबै पसलेको अवस्था बेहाल छ । त्यसैले यहाँका अरु व्यापारी पनि उतै पसल सार्ने तयारीमा छन् ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सिम्रौनगढमै रहेको विवेक एन्ड साहिल बस्त्रालयका सञ्चालक छोटेलाल साहले पनि पसल सार्न घोडासहनमा सटर भाडामा लिइसकेका छन् । ‘यहाँ दिनभर पसलमा झिंगा मारेर बस्नु पर्ने अवस्था छ’, उनले भने, ‘साउन महिनाभित्र कपडा पसल घोडासहनमा सार्छु ।’

भन्सार राजस्व तिरेर सामान ल्याउने सहज वातावरण नभएका कारण ऐतिहासिक एवं पर्यटकीय स्थल बाराको सिम्रौनगढ बजारका व्यापारी भारत पलायन हुन थालेका छन् ।

दुई महिनामा सिम्रौनगढ बजारका झन्डै २० वटा पसल सीमावर्ती भारतीय सहर घोडासहनमा सरिसकेका छन् ।

दुई महिनाको अवधिमा सिम्रौनगढबाट कपडा, किराना, भाँडाकुँडा र सुनचाँदीका गरी लगभग २० वटा पसल घोडासहनमा सरिसकेको र अझै केही सर्ने तयारीमा रहेको उद्योग वाणिज्य संघ सिम्रौगढका अध्यक्ष जयन्त कुशवाहाले बताए ।

पसलेहरु धमाधम भारत पलायन हुन थालेपछि सिम्रौनगढ बजारको चहलपहल कम हुँदै गएको छ ।