काठमाडौं, २४ असार । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा.महेशमान प्रधान पनि प्रमाणपत्र सच्याएको अभियोगमा मुछिएका छन् ।
अख्यियार दुरुपोग अनुसन्धान आयोगले गरेको छानविनमा वरिष्ठ उपरीक्षक डा.प्रधानले सुरू नियुक्ति पाउन पेशगरेको आई.एस.सी. र बी.एस्सी.को प्रमाणपत्रमा जन्म मिति सच्याएर नक्कली प्रमाणपत्र बुझाएको पाइएको हो । डा.प्रधानले नेपाल प्रहरीको अस्पतालमा बिरामीको उपचार गर्दै आएका थिए ।
डा.प्रधानले प्रहरी नायव उपरीक्षक पदमा २०५९/०२/२० मा सुरु नियुक्ति पाउन पेश गरेको प्रमाणपत्रमा जन्म मिति सच्याई झुठा विवरण दिई नेपाल प्रहरी सेवामा प्रवेश गरेको पुष्टि भएको अख्तियारले दाबी गरेको छ । डा.प्रधानले प्रमाणपत्रको जन्म मिति सच्याएर भ्रष्टाचार गरेको भन्दै हदैसम्मको कारबाही माग गरेर अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायरगरेको छ ।
‘भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार कसुर गरिएको देखिएको हुँदा निज डा. महेशमान प्रधान उपर सबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९(२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम दण्ड सजाय हुन मागदाबीलिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ’, अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया