काठमाडौं, २४ असार । पानीको बहाव कम भए पनि भोटेकोशीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ ।
बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल–चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम रोकिएको छैन ।
मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारी अनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा छन् ।
कोदारी बजारको होटल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् ।
तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायलाई उद्रित गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्ण मणि दुवाडीले बताए ।
नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ ।















प्रतिक्रिया