काभ्रे, २१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन, भूकम्पपछिको पुनर्निर्माण र संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
जसको नेतृत्वमा भए पनि अब नयाँ सरकार बन्ने उनको भनाइ छ । काभ्रेको नालामा जनयुद्धका क्रममा सहिद भएका रामेश्वर श्रेष्ठ र ०६२–६३ को आन्दोलनमा सहिद भएका भीमसेन दाहालको स्मृतिमा बनेको सहिदगेट उद्घाटनका क्रममा प्रचण्डले सहमतीय सरकारको नेतृत्व जसले गरे पनि हुने बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ उनले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका छ भन्ने हो भने माओवादी पनि तयार छ ।’ कांग्रेस, एमालेले आवश्यक ठानेमा आफू पनि प्रधानमन्त्री बन्न सक्ने प्रचण्डको भनाइ छ ।
‘शान्तिप्रक्रियासम्म आउँदा एउटा नेतृत्वको हैसियतले आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउन लागिपरेको आधारमा मलाई विश्वास गरेर कांग्रेस–एमालेका साथीले प्रधानमन्त्री बन्न सहयोग गर्नुहुन्छ भने म तयार छु,’ प्रचण्डले भने, ‘होइन भने ओलीको नेतृत्वमा सहमति भए झनै राम्रो, नभए देउवाको नेतृत्वमा भए पनि नयाँ सरकार बन्छ ।’
प्रचण्डले आफूले प्रधानमन्त्री हुन हतारो नगरेको बताए । उनले भने, ‘कहीँ प्रचण्ड पो प्रधानमन्त्री हुन हतारिएको हो कि भन्ने टिप्पणी देखिन्छ । सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरू केही छैन ।’
‘माओवादीसँग मिली नयाँ सरकार बनाएर एमालेलाई देखाउँला भन्ने कांग्रेसका साथीहरूले सोच्नुभएको छ भने त्यो नसोच्नुहोला,’ प्रचण्डले भने, ‘एमालेका साथीहरूले पनि प्रचण्ड प्रधानमन्त्री बन्ने खेल हो भन्दा पनि आन्तरिक राष्ट्रिय एकता र संविधान कार्यान्वयन गराउन प्रचण्डले यो भूमिका खेलेको हो भनेर बुझ्नुहोला ।’















प्रतिक्रिया