– नरेश केसी
भैरहवा, असार २० । सरकारले कर असुलीमा नयां रणनीतिका साथ सबैलाइ करको दायरामा ल्याउने अभ्यास गरिरहदा कर असुलीमा नयां चुनौती थपिएको छ ।
नटवरलाल (फटाहा, बद्मास, झुठ प्रवृतिका मान्छे) का कारण अहिले आन्तरीक राजस्व कार्यलयलाई हैरानी समेत भएको छ । पुर्वको मान्छे पश्चिम नाकाबाट कारोबार गर्ने र पश्चिमको मान्छे पुर्वी नाकाबाट कारोबार गर्ने र कर ठगीमा हदैसम्मको हतकण्डा अपनाउने गरेको रहस्य बाहिर आएको छ ।
भारतबाट आयात हुने आलु प्याज, साग सब्जी जन्य कर छुटका पदार्थको व्यवसायीक कारोबार गर्ने व्यवसायीक फर्मका नाममा करौडौं रुपैयां कर छली भएको प्रमाण बाहिर आएको हो ।
व्यवसायीहरुले कुनै गाउको सामन्य मान्छेको नाममा फर्म दर्ता गर्ने, उसैको नाममा बैंक खाता चलाउने अनि उसंग अख्तियारी लिएर कारोबार गर्ने गरेको भेटिएको छ । यस्तो अबैध काममा भारतीय नागरिकहरु बढी रहेको बुझिएको छ । स्रोतका अनुसार भारतीय व्यापारीले सामन्य गरिब नेपालीलाई प्रलोभनमा पारी उसको नागरिकता प्रयोग गरी फर्म खोल्ने, स्थायि लेखा नम्बर लिने, बैंक खाता खोल्ने अनि उसलाई अलि अलि रकम दिएर पठाउने पछि उ संग बैंकको अख्तीयारी लिएर करौडौंको कारोबार गर्ने तर कर नतिर्ने गरेको देखिएको छ । कारोबारको अनुमानित आय व्यय विवरण, कर नतिरेपछि आन्तरिक राजस्व कार्यलय भैरहवाले गोप्य रुपमा अनुसन्धान गर्दा जसको नाममा फर्म दर्ता भएको छ उसलाई कारोबारको बारेमा थाहै नभएको समेत पाइएको छ । फर्म दर्ता भएको व्यक्तिको सम्पर्क ठेगाना खोज्दै जादा उ सामन्य मजदुर भएको भेटिदा यसमा ठूलो चलखेल भएको ठानी आन्तरिक राजस्व कार्यलयले यस्ता शंकास्पद फर्म माथी कारबाहि नै थालेको छ ।
कार्यालयले ५३ करोड ७५ लाख ६६ लाख कारोबार गरेको शिवशक्ति गल्ला भण्डार बेलवा ८ पर्साको कारोबार रोक्का गरिदिएको छ । मनिफ राउत कुर्मिको नाममा दर्ता रहेको उक्त फर्मले आन्तरिक राजस्व कार्यलय भैरहवाबाट ६०३४३१८१८ को स्थायि लेखा नम्बर लिई कारोबार गरेको थियो । आलु प्याज सब्जीको आयत गर्ने उक्त फर्मले अहिले सम्म अनुमानित आयव्ययको विवरण र कर केही बुझाएको छैन । यसरी यति ठूलो कारोबार गर्ने फर्मले अग्रीम आयको पहिलो किस्ता , दोस्रो किस्ता र आयव्यय विवरण र कर नबुझाएकोले कारबाहि स्वरुप आयकार ऐन ९४ र ९५ अनुसार उसको कारोबार रोक्का गर्न भैरहवा भन्सार कार्यलाई पत्र काटेको आन्तरिक राजस्व कार्यलय भैरहवाका प्रमुख महाराज कोइरालाले जनाए ।
यसैगरी अबैध कारोबार गर्ने रामप्रवेश महतोको नाममा दर्ता रहेको श्री राधिका सब्जी स्टोर्स जगरनाथपुर पर्साको कारोबार पनि रोक्का गरिएको छ । उक्त स्टोर्सले ६०३७३५६५५ नम्बरको स्थायी लेखा नम्बर मार्फत १६ करोड ३७ लाखको कारोबार गरेको देखिन्छ । लुम्बिनी सास्कृति नगरपालिका वडा नम्बर ३ रुपन्देहीका योगेन्द्र प्रसाद तेलीको नाममा दर्ता रहेको शाहि खाद्यान्न सप्लायर्सले १० करोड ७३ लाखको अबैध कारोबार गरेको छ । स्थायी लेखा नम्ब ६०३६८५८५३ रहेको उक्त फर्मले पनि अहिले सम्म कुनै विवरण बुझाएको छैन ।

यसैगरी बेलवा ४ पर्साका रामरतन रावतको नाममा दर्ता रहेको न्यू लक्की खाद्यान्न भण्डारले पनि भैरहवा भन्सारकै बाटो प्रयोग गरी अबैध कारोबार गरिरहेको छ । ६०३७९३६३१ स्थायी लेखा नम्बर लिई ४ करोड ६२ लाख बराबरको कारोबार गरेको उक्त फर्मको पनि आन्तरिक राजस्व कार्यलय भैरहवाले कारोबार रोक्का गरिदिएको छ । त्यसैगरी विरुवागढी ६ पर्साका चन्द्रकिशोरको नाममा दर्ता भई ६०३७३५६५५ रहेको अनमोल खाद्यान्न स्टोर्सलेको पनि कारोबार रोक्का भएको छ । सिद्धार्थनगर वडा नम्बर ६ रुपन्देहीका मोहमद अफजलको नाममा दर्ता भएको तहसिफ ट्रेडर्सले पनि अबैध कारोबार गरेकोले उसको कारोबार पनि रोक्का गरिएको छ । ६०२२७७४६२ स्थायी लेखा नम्बर लिई कारोबार गरेको उक्त फर्मले ७ करोड ८५ लाख मूल्य बराबरको कारोबार गरेता पनि कर कार्यलयमा कुनै विवरण र कर बुझाएका छैनन् ।
यी ६ फर्म दर्ताको हिसाबले सामन्य नागरिकको रुपमा रहेका छन् । जसको मुख्य सन्चालक अबैध कारोबारी रहेका छन् । उनीहरुले नेपाली कर प्रणालीको फाइदा उठाउदै यस्तो गरिएको देखिन्छ । केही समय अगाडी सम्म कुनै वस्तुको आयत गर्दा अग्रीम कर लिने प्रचलन रहेता पनि नेपाल डब्लु टि ओ, साफ्टा, ग्याट जस्ता संगठनको सदस्य भएपछि यो प्राबधान हटाएको थियो । त्यसपछि अबैध कारोबारीहरु विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गर्ने, ठूलो कारोबार गर्ने र प्रत्येक आर्थिक मसान्तको समाप्ती पछि सो फर्म बन्द गर्ने र पुनः अर्को व्यक्तिको नाममा अर्को फर्म दर्ता गरी कारोबार गर्ने कार्य गर्दछन् । ठगहरुले एक पैसा कर नतिरी वार्षिक अरबौंको कारोबार गर्ने यो नटवारलाल करदाता प्रवृति कर कार्यलयकोलागी मात्रै नभएर नेपाल सरकारकै लागी चुनौतिको विषय बनेको छ ।
















प्रतिक्रिया