३० आश्विन २०८३, शुक्रबार

कर्मचारीका कारण मुक्त हलियाको रकम फ्रिज हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mukta Haliya– झलक पाली

डोटी, २० असार । डोटीमा यस वर्ष पनि मुक्त हलिया पुनःस्थापनाका लागि नेपाल सरकारले विनियोजन गरेको रकम फ्रिज जाने लगभग पक्का भएको छ ।

असार मसान्त नजिकिनै लाग्दा पनि काम पूरा नभएकाले कूल रकमको ३० प्रतिशत रकम फ्रिज जाने अवस्थामा पुगेको मुक्त हलिया जिल्ला पुनःस्थापना समितिका सदस्य सचिव एवं जिल्ला मालपोत कार्यालय डोटीका मालपोत अधिकृत सुनिलसागर जोशीले बताए ।

यस वर्ष पुनःस्थापनामा परेका घर मर्मतका लागि २० जना, जग्गा खरिदका लागि १५ जना र घर निर्माणका लागि १५ जना गरी ५० जनाले पाउने ३० प्रतिशत रकम अर्थात १६ लाख २५ हजार रकम फ्रिज जाने अवस्थामा रहेको जोशीले जानकारी दिए ।

नेपाल सरकारले भूमि सुधार मन्त्रालय अन्तरगत मुक्त हलिया पुनःस्थापनाका लागि यस वर्ष घर मर्मतका लागि प्रति परिवार १ लाख २५ हजार, जग्गा खरिदका लागि २ लाख र घर निर्माणका लागि ३ लाख २५ हजारका दरले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर डोटीमा मुक्त हलियाहरुको सँस्था राष्ट्रिय हलिया मुक्ती समाज डोटीभित्र देखिएको किचलोका कारण पुनःस्थापना कार्यक्रममा समस्या देखिएको हो ।

विशेषतः सँस्थाको आन्तरिक विवादलाई लिएर राष्ट्रिय मुक्त हलिया समाज महासंघका पूर्व अध्यक्ष डम्बर वि.क.ले विरोध गरेपछि गएको फाल्गुन १८ गतेको जिल्ला पुनःस्थापना समितिको बैठक स्थगित भएकै कारण पुनःस्थापनामा दुई महिना ढिलाई भएको र रकम फ्रिज जाने अवस्था आएको राष्ट्रिय हलिया मुक्ती समाज डोटीका अध्यक्ष भीमबहादुर सार्कीको आरोप छ ।

तर सँस्थामा गैर हलिया नेतृत्वमा आएको, सँस्थाको विवादबारे पुनरावेदन अदालतमा मुद्दा चलिरहेको र मुक्त हलिया पुनसर््थापनाको रकम केहि व्यक्तिले हिनामिना गरेका कारण त्यसको छानविनका लागि आफुले जानकारी गराएको र त्यसले पुनःस्थापनामा कुनै असर नपरेको महासंघका पूर्व अध्यक्ष डम्बर वि.क.को भनाई छ ।

पुनःस्थापनामा ढिलाई हुनुको अर्काे कारणमा मुक्त हलियाहरु नै सक्रिय नदेखिएको र सरकारले गाउँघरमै आएर सबै काम गरिदिन्छ भन्ने खालको बुझाई उनिहरुमा रहेको पाईएको मालपोत अधिकृत जोशीले बताएका छन् ।

डोटीमा गत वर्ष पनि मुक्त हलिया पुनःस्थापनाका लागि आएको कूल रकममध्ये ३० प्रतिशत अर्थात ३० लाख ३० हजार रकम फ्रिज गएको थियो ।

फ्रिज गएको रकम अर्काे आर्थिक वर्षमा दोश्रो पटक विनियोजन हुने सम्भावना नरहेको जिल्ला मालपोत कार्यालय डोटीले जनाएको छ ।