९ कार्तिक २०८३, सोमबार

राजधानीमा तरकारीको मूल्य ह्वात्तै बढ्यो, हरियो खुर्सानी १ सय ५५ रुपैयाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tarkariकाठमाडौं, १९ असार । उपत्यकामा तरकारीको भाउ बढेको छ । एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको हो ।

तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ । साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो ।

४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार क्रमशः ८० र ७० रुपैयाँमा बिक्री भएको थियो ।

सरकार, व्यवसायी र नियमनकारी निकायले बर्खामा तरकारी नष्ट हुने र अहिले भएको ढुवानी अवरोधले मूल्य बढेको बताएका छन् । तर, मूल्य नियमनका लागि कुनै पहल गरेका छैनन् ।

अनुगमन र मूल्य नियमनको जिम्मेवारी लिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले अहिले मूल्य बढ्ने समय भएको भन्दै नियमनको पहल नथालिएको बताए ।

‘अहिले बर्खा, ढुवानीमा भएको अवरोध र बेमौसमका कारण केही तरकारीको भाउ बढ्छ’, उनले भने, ‘यसपटक मात्रै बढेको पनि होइन, प्रत्येक वर्ष यो समयमा तरकारीको भाउ बढ्ने गरेको छ ।’

बजारले मूल्य निर्धारण गर्ने भन्दै उनले नियमनको पहल नथालिएको पनि बताए ।

कालिमाटीका थोक व्यापारीले बजारभित्रकै खुद्रा व्यापारीलाई बिहानै तरकारीको भाउ निर्धारण गरी बिक्री गर्छन् ।

ठेलागाढा र किराना पसलले पनि थोक व्यापारीबाटै थोक मूल्यमा तरकारी लगेर उपभोक्तालाई तरकारी बेच्छन् ।

यसरी कालिमाटीसम्म धाएर तरकारी किनेका स्थानीय व्यापारीले ढुवानी लागतलगायत जोडेर उपभोक्तालाई झन् महँगोमा बिक्री गर्छन् ।

पसल र ठेलागाढामा कालिमाटीले तोकेभन्दा प्रतिकिलो औसत पाँच रुपैयाँबढी मूल्य पर्ने समितिका एक अधिकारीले बताए ।

कालिमाटीसम्म पुगेर उपत्यकाका १० प्रतिशत उपभोक्ताले मात्रै तरकारी खरिद गर्ने गरेको समितिको अनुमान छ ।