२६ कार्तिक २०८३, बिहिबार

सरकारको विषयमा कुरा अगाडि बढाउने जिम्मेवारी ‘प्रचण्ड’लाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao Kendra Ko Meetingकाठमाडौं, १८ असार । दोस्रो ठूलो सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमालेसँगको नौँ सहमति कार्यान्वयन र आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा परामर्श गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारका विषयमा छलफल र परामर्शहरू गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

‘एमालेसँग भएको नौँ बुँदे सहमति कार्यान्वयनमा तदारुकता लिने छौँ’, प्रवक्ता भुसालले भन्नुभयो, ‘माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष ज्यूलाई दिएका छौँ ।’

नौँ बुँदे सहमति अनुसार बजेट पारित हुनेवित्तकै प्रचण्डको नेतृत्वमा एमालेको समर्थनमा सरकार बनाउने भद्र सहमति भएको भन्दै माओवादी केन्द्रले कुरा उठाउँदै आएको छ । तर एमालेले सो विषय नभएको भन्दै आलटाल गर्दै आएको छ ।

एमालेले नौँ बुँदे सहमति कार्यान्वयन र प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने विषयमा अनिच्छा जनाएपछि माओवादी केन्द्रले सरकार बनाउने विषयमा प्रमुख विपक्षी दल कांग्रेसका साथै मधेस केन्द्रित र सत्तारुढ अन्य दलहरूसँग परामर्श गर्ने जिम्मेवारी अध्यक्षलाई दिने निर्णय गरेको ।

यसै विषयमा छलफल गर्न माओवादी केन्द्रले असार २१ गते पोलिट ब्यूरोको बैठक बोलाएको छ । पोलिट ब्यूरोमा कार्यदलले बुझाएको महाधिवेशन र निर्वाचनसम्बन्धी कार्यविधिका विषयमा बुझाएको प्रतिवेदन पेश हुनेछ ।