२६ कार्तिक २०८३, बिहिबार

सांसदहरुद्धारा बाढी प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsad-baithak

काठमाडौँ, १७ असार । व्यवस्थापिका संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदले बाढी पहिरोका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएकाले तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकका तीन दर्जन बढी जिल्ला प्रभावित भएको, हजारौं जनता घरबार बिहीन हुने अवस्था पैदा भएको भन्दै उहाँहरुले प्रभावितलाई सरकार भएको अनुभव गराउन आग्रह गर्नुभयो ।

उहाँहरुले भूकम्पप्रभावित १४ जिल्लाका विभिन्न स्थानमा पहिरोको प्रकोप बढेको, बस्ती नै जोखिममा परेको भन्दै प्रभावितलाई सुरक्षित स्थानमा सार्नुपर्नेमा जोड दिनुभयो ।

तराई–मधेसका विभिन्न जिल्लासमेत डुबानमा परेको भन्दै सांसदले जनताको पक्षमा काम गर्न र पीडितलाई पुनःस्थापना तथा राहतका लागि सरकारी संयन्त्र परिचालन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले विपद् न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्ने विषय विगत लामो समयदेखि उठेपनि त्यसतर्फ ध्यान दिन नसक्दा समस्या भएको र जोखिम बढेको भन्दै नीतिगत तथा भौतिक तयारी गर्न सरकारलाई सुझाव दिनुभयो ।

भूकम्प प्रभावित जिल्लाका जनता बढी जोखिममा परेको भन्दै युद्धस्तरमा उनीहरुको पुनःबास र पुनःस्थापनाको अभियान चलाउन आग्रह गर्नुभयो । विगतका वर्षमा नै बाढी र पहिरोकाकारण आहात भएका जनताले हालसम्म राहत नपाएको सन्दर्भमा यसवर्षका पीडितले पनि राहत पाउन कतिवर्ष कुर्नुपर्ने हो त्यसको ठेगान नभएको भन्दै सांसदले प्रभावकारी संयन्त्रको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

भूकम्प प्रभावित जिल्लाका पहिरो पीडितलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन सरकारलाई संसद्ले कडा निर्देशन दिनुपर्ने समेत उहाँहरुको माग थियो । भूकम्प गएको १४ महिना बितिसक्दा समेत भूकम्पपीडितले राहत पाउन नसकेको र उनीहरुको सुरक्षाको व्यवस्था सरकारले नगरेको सांसदको आरोप छ ।

यसरी धारणा राख्ने सांसद्हरुमा रामकृष्ण यादव, हितराज पाण्डे, रामकुमार भट्टराई, अइन्द्रसुन्दर नेम्वाङ, दिलमान पाख्रिन, भरतबहादुर खड्कालगायत हुनुहुन्थ्यो । रासस